धवलशमशेरको नेतृत्वमा 'जय नेपाल पार्टी' घोषणा: राजावादी र हिन्दुवादी धारमा नयाँ तरंग

धवलशमशेरको नेतृत्वमा 'जय नेपाल पार्टी' घोषणा: राजावादी र हिन्दुवादी धारमा नयाँ तरंग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ गठनको घोषणा गरेसँगै संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको माग राख्दै आएका राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ। डा. राणाको नेतृत्वमा नयाँ दल गठन भएसँगै राजसंस्था र हिन्दुराष्ट्रको पक्षधर राजनीतिक धार थप विभाजित हुने देखिएको छ।

राप्रपाभित्र लामो समयदेखि कायम नेतृत्व विवाद, आन्तरिक कार्यशैलीप्रतिको असन्तुष्टि र मूल एजेण्डा कार्यान्वयनमा नेतृत्वको शिथिलतालाई मुख्य आधार बनाएर नयाँ दलको उदय भएको विश्लेषण गरिएको छ।

जय नेपाल पार्टीले आफूलाई राजसंस्था र हिन्दु अधिराज्यको ‘नयाँ राजनीतिक प्लेटफर्म’का रूपमा प्रस्तुत गरेको भए पनि यसले आगामी निर्वाचनमा कति जनसमर्थन जुटाउँछ भन्ने प्रश्न अझै खुला नै छ।

विशेषतः राप्रपाको परम्परागत मत आधारमा यसको प्रभाव, राजावादी शक्तिहरूबिचको ध्रुवीकरण तथा नयाँ दलको संगठन निर्माणको गतिले भावी राजनीतिक समीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने राजनीतिक विश्लेषकहरूको आँकलन छ।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत डा. राणाले राप्रपाबाट अलग भई नयाँ राजनीतिक यात्राको सुरुआत गरिएको औपचारिक जानकारी दिएका हुन्। उनले आगामी साउन २८ गते निर्वाचन आयोगमा दल दर्ता गराउने तयारी भइरहेको जानकारी दिँदै देशको वर्तमान राजनीतिक दिशाप्रति असन्तुष्ट नागरिकलाई भरपर्दो विकल्प दिने उद्देश्यले दल स्थापना गरिएको दाबी गरे।

नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु अधिराज्यका रूपमा पुनःस्थापित गर्नु नै पार्टीको मूल विचार रहेको स्पष्ट पार्दै डा. राणाले किराँत, बौद्धलगायत सबै धर्म र संस्कृतिलाई सम्मान गर्दै नेपाललाई विश्वकै एकमात्र हिन्दु अधिराज्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको बताए। उनले नेपालबाट हिन्दुराष्ट्रको व्यवस्था हटाउनु ऐतिहासिक भुल भएको टिप्पणी गर्दै आन्दोलन, सडक संघर्ष तथा संसदीय प्रक्रियासहित उपलब्ध सबै संवैधानिक माध्यम प्रयोग गरी हिन्दु अधिराज्य पुनःस्थापनाका लागि अभियान सञ्चालन गरिने स्पष्ट पारे।

सक्रिय राजनीतिक हस्तक्षेप गर्ने राजसंस्था नभई अभिभावकीय, राष्ट्रिय एकताको प्रतीक तथा राष्ट्ररक्षकको भूमिकामा रहने संवैधानिक राजसंस्थाको पुनःस्थापना आफूहरूको अवधारणा रहेको उनले बताए। "राजनीति नेपाली जनताका छोराछोरीले गर्ने हुन्; राजसंस्था भने अभिभावक, राष्ट्रिय एकताको केन्द्र र राष्ट्ररक्षकका रूपमा रहनेछ," डा. राणाले भने।

‘राप्रपाले एजेण्डा बेच्यो’
 

नयाँ पार्टी गठनको मुख्य कारण स्पष्ट पार्दै डा. राणाले राप्रपामाथि आफ्ना मूल एजेण्डाप्रति इमानदार नभएको गम्भीर आरोप लगाए। राप्रपाले साढे तीन दशकभन्दा बढी समय राजसंस्था र हिन्दुराष्ट्रको नाममा जनमत मागे पनि अवसर प्राप्त हुँदा आफ्नै एजेण्डा कार्यान्वयन गर्न नसकेको उनको भनाइ थियो। व्यक्तिगत स्वार्थका कारण मूल विचारलाई तिलाञ्जली दिइएको भन्दै उनले पछिल्लो निर्वाचनमा राप्रपाका अधिकांश उम्मेदवारको जमानत जफत हुनु जनताले एजेण्डा नकारेको नभई राप्रपाको कार्यशैलीप्रतिको असन्तुष्टिको परिणाम भएको दाबी गरे।

नेपालमा ८२ प्रतिशत हिन्दु र ९४ प्रतिशत ओमकार परिवारका नागरिक रहेको उल्लेख गर्दै उनले धर्मनिरपेक्षताको औचित्यमाथि प्रश्न उठाए। हिन्दु अधिराज्य केवल धार्मिक मुद्दा मात्र नभई आर्थिक विकास र धार्मिक पर्यटनसँग पनि प्रत्यक्ष जोडिएको विषय भएकाले विश्वभरका हिन्दुहरूको प्रमुख गन्तव्य बनाएर आर्थिक सम्भावना सिर्जना गर्न सकिने धारणा उनले व्यक्त गरे। साथै, नयाँ पार्टीले कुनै पनि धर्म वा समुदायप्रति विभेद नगर्ने र नेपाल सबै धर्मावलम्बीको साझा देश रहेको स्पष्ट पारे।

युवा-महिला केन्द्रित संगठन र ‘खुसी पार्टी’ को अवधारणा
 

जय नेपाल पार्टीलाई युवा तथा महिला केन्द्रित लोकतान्त्रिक संगठनका रूपमा विकास गरिने घोषणा गर्दै डा. राणाले केन्द्रीय समितिको औसत उमेर ४५ वर्ष कायम गर्ने लक्ष्य सार्वजनिक गरे। पार्टीभित्र नेतृत्वले निर्णय लाद्ने प्रवृत्तिको अन्त्य गर्दै सामूहिक नेतृत्व र आन्तरिक लोकतन्त्रलाई संस्थागत गरिने उनको भनाइ छ।

अन्य दलभित्र बढ्दो आन्तरिक विवाद र गुटबन्दीको प्रसङ्ग उल्लेख गर्दै डा. राणाले आफ्नो दललाई कार्यकर्ता र नेता खुसी भएर काम गर्न सक्ने ‘खुसी पार्टी’ बनाउने घोषणा गरे। आफ्नो अध्यक्षतामा पार्टी दर्ता हुने जानकारी दिँदै उनले व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईँलाई पार्टीको सर्वमान्य नेताका रूपमा अघि बढाउने तयारी रहेको र यसबारे थप सांगठनिक प्रक्रिया पूरा गरिने बताए।

पार्टी दर्तापछि देशभर सांगठनिक संरचना विस्तार गरी आगामी स्थानीय तहको निर्वाचनलाई पहिलो राजनीतिक परीक्षाका रूपमा लिइने र उम्मेदवार चयनमा जनमतलाई नै प्राथमिकता दिइने नवनियुक्त अध्यक्ष डा. राणाले जानकारी दिए।

छुटाउनुभयो कि ?