काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी साउन २६ गते स्वदेश फर्किने भएका छन्। उनी उक्त दिन राति पौने १० बजेको उडानमार्फत काठमाडौँ अवतरण गर्ने कार्यक्रम रहेको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए।
यसअघि साउन ५ गते नै पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि आफू स्वदेश फर्कन लागेको वक्तव्यमार्फत सार्वजनिक गरेका थिए। उनले लोकतन्त्र, राष्ट्रियता, समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन राजनीतिक दल, नागरिक समाज, युवा र आम जनसमुदायलाई आह्वानसमेत गरेका छन्।
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा पुनरावलोकनको अनुमति दिएको र पार्टीको संस्थापन इतर पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको पृष्ठभूमिमा देउवाको स्वदेश फिर्तीलाई चासोका साथ हेरिएको छ।
स्वास्थ्य उपचारका क्रममा २०८२ फागुन १३ गते Singapore गएका देउवा त्यसपछि हङकङ प्रस्थान गरेका थिए। वालेन्द्र शाह नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारसम्बन्धी छानबिन अघि बढाएपछि उनी लामो समय हङकङमै रोकिएका थिए।
सरकारले जारी गरेको पक्राउ पुर्जीविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिसकेको छ भने इन्टरपोलले समेत रेड नोटिस जारी गर्न अस्वीकार गरेको थियो। यद्यपि, उनी स्वदेश फर्किएमा छानबिन प्रक्रिया अघि बढाउने रणनीतिमा सरकार रहेको छ। उनीसँगै रहेकी पत्नी डा. आरजु देउवाको फिर्तीबारे भने केही खुलाइएको छैन।