काठमाडौं। कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणलाई लिएर राष्ट्रिय सभा बैठकमा सोधिएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले उल्टै सांसदलाई प्रतिप्रश्न गर्दै उत्तर दिन अस्वीकार गरेका छन्।
आज बसेको राष्ट्रिय सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रमका क्रममा गृहमन्त्री गुरुङ रोस्ट्रममा उपस्थित भएका थिए। कार्यक्रमको सुरुमा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तका हत्यारा कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरेका थिए।
"कञ्चनपुरकी निर्मला पन्तको दिनदहाडै बलात्कारपछि हत्या भएको दश वर्ष नाघिसकेको छ। दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो? के हाम्रो राज्य संयन्त्र असफल भएको हो?" भन्दै सांसद विश्वकर्माले प्रश्न उठाएका थिए।
जवाफमा गृहमन्त्री गुरुङले उक्त विषय अत्यन्तै संवेदनशील भएको बताउँदै वर्तमान सरकारलाई यो भारी नबोकाउन आग्रह गरे। "म माननीयज्यूलाई नै यो प्रश्न सोध्न चाहन्छु– तपाईंहरू सरकारमा हुँदा हत्यारा किन पत्ता नलगाएको?" भन्दै उनले रोस्ट्रमबाटै प्रतिप्रश्न गरे।
उक्त घटनाबारे बारम्बार सार्वजनिक रूपमा प्रश्न नगर्न आग्रह गर्दै गृहमन्त्री गुरुङले भने, "यसको प्रगतिबारे मलाई व्यक्तिगत रूपमा आएर सोध्नुहोला, मसँग उत्तर छ। तर यसरी सार्वजनिक रूपमा पटक-पटक चर्चा गर्दा आमाको पीडा मात्रै बल्झिन्छ।"
गृहमन्त्रीको भनाइपछि सभाका अध्यक्षले पुरक प्रश्न सोध्न दिएको समयमा सांसद विश्वकर्माले आपत्ति जनाए। मन्त्रीले सांसदको नैसर्गिक एवं विधायिकी अधिकारमा हस्तक्षेप गरेको भन्दै उनले पुनः सोही प्रश्न दोहोर्याए।
तर, दोस्रोपटक सोधिएको प्रश्नमा गृहमन्त्री गुरुङले स्पष्ट रूपमा उत्तर नदिने बताए। उनले उक्त विषयमा अनुसन्धान जारी रहेको र सांसदहरूले सदनबाहिर बुझ्न चाहेमा भइरहेको अनुसन्धानको प्रगतिबारे जानकारी गराइने स्पष्ट पारे।