काठमाडौं। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया उच्च रक्तचाप र मधुमेह (सुगर) को तह बढेपछि वीर अस्पतालमा भर्ना भएका छन्। सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा आयोजित बैठकका क्रममा अचानक बेहोस भएका उनलाई सुरुमा मध्यपुर ठिमी अस्पताल लगिएको थियो।
त्यहाँ प्रारम्भिक उपचारपछि घर फर्किएका थपलियाको स्वास्थ्यमा पुनः समस्या देखिएपछि मंगलबार दिउँसो वीर अस्पताल भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार थपलियालाई वीर अस्पतालको शल्यचिकित्सा भवनको तेस्रो तलास्थित क्याबिनमा राखेर चिकित्सकको निरन्तर निगरानीमा उपचार भइरहेको छ।
हाल उनको रक्तचाप, अक्सिजनको मात्रा र अन्य स्वास्थ्य सूचकहरू स्थिर रहेका छन्। घटनाको पृष्ठभूमि र दाबी-प्रतिदाबीबागमती प्रदेश सरकार गठन र संसदीय दलको नेतृत्वबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाउनुभएको उक्त बैठकमा तिखो भनाभन र हप्कीदप्की भएपछि थपलिया बसेकै ठाउँमा ढलेकाे बैठकमा सहभागी सांसदहरूले बताएका छन्।
ओलीसहितका नेताहरूले असन्तुष्टि व्यक्त गरेपछि आफ्नो भनाइ राखेर बाहिरिने क्रममा उनी बेहोस भएका थिए। त्यसपछि एमाले नेतृ निरु पाल र पूर्वसांसद दावा दोर्जे लामाले पानी छर्किएर उनलाई होसमा ल्याउने प्रयास गरेका थिए भने सांसद केशव पोखरेलको गाडीमा राखेर मध्यपुर ठिमी अस्पताल पुर्याइएको थियो।
यता, एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले भने सामाजिक सञ्जालमार्फत उक्त घटनाको खण्डन गरेका छन्।
बागमती प्रदेशमा बहुमतको सरकार बनाउने विषयमा भनाइ राख्ने क्रममा थपलिया भावुक भई गला अवरुद्ध मात्र भएको दाबी गर्दै उनले मिडियामा आएका बेहोस सम्बन्धी समाचारहरू भ्रामक रहेको उल्लेख गरेका छन्।
यद्यपि, पारिवारिक स्रोत र प्रत्यक्षदर्शी सांसदहरूले भने स्वास्थ्यमा एक्कासी आएको उतारचढावकै कारण उनलाई अस्पताल भर्ना गर्नुपरेको पुष्टि गरेका छन्।