वाग्मतीमा भौतिक पूर्वाधारमन्त्री पौडेलद्वारा राजीनामा, हानेपाका बज्राचार्य नयाँ मन्त्री नियुक्त

वाग्मतीमा भौतिक पूर्वाधारमन्त्री पौडेलद्वारा राजीनामा, हानेपाका बज्राचार्य नयाँ मन्त्री नियुक्त

हेटौँडा। वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण फेरि एकपटक हलचलपूर्ण बनेको छ। भौतिक पूर्वाधार विकासमन्त्री बिनु रायमाझी पौडेलले मङ्गलवार मन्त्री पदबाट राजीनामा दिएकी छन्। उनले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम मुख्यमन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन्।

रायमाझीको राजीनामालगत्तै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद्को पुनर्संरचना गर्दै नयाँ कार्यविभाजन गरेका छन्। मुख्यमन्त्री बानियाँले हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका हुन्। बज्राचार्यको शपथ ग्रहण मंगलबार नै हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

नयाँ कार्यविभाजनअनुसार मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी आफैँसँग राखेका छन्। त्यसैगरी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारी, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी उर्मिला नेपाल र स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कञ्चनचन्द्र बादेलाई दिइएको छ।

त्यस्तै आर्थिक मामिला तथा योजनामन्त्रीमा प्रभात तामाङ, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्रीमा सुरेश श्रेष्ठ र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीमा कृष्णकुमार तामाङ यथावत् रहेका छन्। मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद्को कार्यसम्पादनलाई थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन मन्त्रालयहरूको पुनर्संरचना गरिएको बताएका छन्।

अल्पमतको दबाब र गठबन्धन व्यवस्थापनको चुनौतीबिच भएको यो पुनर्गठनले वाग्मती प्रदेशको आगामी राजनीतिक दिशा र सरकारको स्थायित्वबारे पुनः चासो बढाएको छ।

छुटाउनुभयो कि ?