काठमाडौँ। नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सुस्तामा भारतीय पक्षबाट भएको सीमा अतिक्रमणको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन्।
मङ्गलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भारतीय सेना सिभिल पोसाकमा प्रवेश गरेर सुस्ताको भूभागमा समस्या सिर्जना गरेको दाबी गर्दै स्थानीय बासिन्दा प्रतिवादमा उत्रनुपरेको अवस्थाप्रति सरकार संवेदनशील हुनुपर्ने बताए।
सांसद बरालले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति पनि सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। सामान्य विवादलाई समयमै नियन्त्रण गर्न नसक्दा तीन जना युवाको ज्यान गएको र धार्मिक सद्भाव तथा सामाजिक शान्तिमा गम्भीर चुनौती उत्पन्न भएको उनले बताए।
राजनीतिक दल, धार्मिक अगुवा र नागरिकस्तरको प्रयासले स्थिति सामान्यीकरणतर्फ गए पनि घाइते र पीडित परिवारको मन जित्न सरकार असफल भएको उनको भनाइ थियो।
सुनसरी घटनामा ज्यान गुमाएका नागरिकहरूको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने माग गर्दै उनले घटनाको निष्पक्ष सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गर्न आग्रह गरे।
भौतिक तथा आर्थिक क्षतिको पूर्ति गर्न सकिए पनि साम्प्रदायिक हिंसाले पुर्याएको सामाजिक र भावनात्मक क्षतिको भरपाई गर्न लामो समय लाग्ने भएकाले दीर्घकालीन समाधान खोजिनुपर्नेमा उनले जोड दिए।
यसैबिच, विराटनगरका एक प्रतिष्ठित उद्योगी परिवारमाथि अनुसन्धानका क्रममा बिहानै घेरा हालेर अपनाइएको सरकारी शैलीप्रति सांसद बरालले कडा आपत्ति जनाएका छन्। यस किसिमको अनुसन्धान प्रक्रियाले उद्योग, शिक्षा र व्यवसाय क्षेत्रलाई त्रसित बनाएको उनको दाबी छ।
साथै, देशमा बढ्दो महँगी, ग्यास आपूर्तिमा देखिएको सास्ती र विधिको शासन कायम गर्न नसकेको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।