प्रधानमन्त्रीसमक्ष सुदूरपश्चिमका सांसदका माग: गेटा विश्वविद्यालयदेखि तटबन्ध निर्माणसम्म

प्रधानमन्त्रीसमक्ष सुदूरपश्चिमका सांसदका माग: गेटा विश्वविद्यालयदेखि तटबन्ध निर्माणसम्म

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलवार भएको भेटमा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिलाई संसद्मार्फत जनतासामु पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। साथै, उनीहरूले आफ्ना निर्वाचन क्षेत्रका विकास निर्माणका आयोजना र स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

भेटका क्रममा सांसदहरूले सुदूरपश्चिमको समग्र राजनीतिक अवस्था, विद्यमान समस्या र सम्भावनाबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए। उनीहरूले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक, विद्युतीकरण र सडक दुर्घटना न्यूनीकरणका उपायबारे छलफल गरेका थिए।

त्यसैगरी, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, हुलाकी सडक, दोधारा–चाँदनी क्षेत्रमा नदी कटान र तटबन्ध निर्माणजस्ता रणनीतिक महत्त्वका आयोजना शीघ्र अघि बढाउन उनीहरूले आग्रह गरे। भन्सारसम्बन्धी समस्या, आरक्षपीडितका माग, किसानका लागि धान खरिद–बिक्रीको सहज व्यवस्थापनलगायतका विषयमा पनि सांसदहरूले प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए।

भेटवार्तामा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायतको सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?