काठमाडाैं। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको विवादित अभिव्यक्ति सच्याएर अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने माग दोहोर्याएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्तिप्रतिको विरोधलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने र संसद्मा उठाइएका विषयहरूलाई कार्यान्वयनमा लैजानुपर्ने बताए।
नेपाल कानुनी राज्य भएकाले जनप्रतिनिधि तथा सर्वसाधारणले देशको जुनसुकै भूभागमा निर्वाध रूपमा आवतजावत गर्न पाउनुपर्ने अधिकारको वकालत गर्दै उनले जनकपुर भ्रमणका क्रममा आफूहरूमाथि भएको अवरोध र आक्रमणको विरोध गरे। गत साउन ५ गते जनकपुर जाँदा एक अज्ञात समूहले आफूहरूलाई निषेध गर्ने प्रयास गरेको र श्रमदाताहरूमाथि कुटपिट गरेको उल्लेख गर्दै सांसद साम्पाङले उक्त घटनाबारे गृहमन्त्रीलाई व्यक्तिगत रूपमै जानकारी गराउँदा पनि दोषीमाथि कारबाही भएन/भएन भन्नेबारे सरकारसँग जवाफ माग गरे।
विभिन्न समूहले आफूलाई 'सेना'का रूपमा चिनाउने प्रवृत्तिप्रति कडा आपत्ति जनाउँदै साम्पाङले नेपालमा एउटै मात्र आधिकारिक सेना 'नेपाली सेना' रहेको प्रस्ट पारे। अन्य कुनै पनि नाममा 'सेना' वा सशस्त्र समूह गठन गर्ने अधिकार कसैलाई नभएको भन्दै उनले यस्ता समूहहरूसँग सरकारले वार्ता नगरी कानुनी रूपमा पूर्णतः निषेध गर्नुपर्ने धारणा राखे।
त्यस्तै, बर्खाको समयमा कोशी ब्यारेजका कारण सीमावर्ती क्षेत्रमा हुने डुबानको समस्याप्रति सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए। आफ्नै भूभाग डुबाएर राष्ट्रवादको प्रदर्शन हुन नसक्ने उल्लेख गर्दै सांसद साम्पाङले डुबान समस्याको दीर्घकालीन समाधान खोज्न र कुनै पनि अप्रिय घटना हुनुअघि नै सरकारलाई पूर्वसक्रिय भएर शान्ति सुरक्षा कायम गर्न आग्रह गरे।