विशेष शोबाट उत्कृष्ट प्रतिक्रिया पाएको ‘हली’ साउन २२ मा हलमा आउँदै, प्रचार तीव्र

विशेष शोबाट उत्कृष्ट प्रतिक्रिया पाएको ‘हली’ साउन २२ मा हलमा आउँदै, प्रचार तीव्र

काठमाडौं। यही साउन २२ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हली’को निर्माण टोलीले प्रचारप्रसारलाई व्यापक बनाएको छ। काठमाडौँ उपत्यकासहित देशका प्रमुख शहरहरूमा चलचित्रको प्रचारलाई तीव्रता दिइएको हो।

पूर्वी नेपालका झापा, मोरङ र सुनसरीलगायतका जिल्लाहरूमा प्रचार सकेर निर्माण टोली हाल पश्चिम नेपालतर्फ केन्द्रित भएको छ। दाङ, नेपालगञ्ज र धनगढीजस्ता प्रमुख शहरहरूमा सञ्चालन हुने अटो तथा ई-रिक्साहरूमा चलचित्रका पोस्टरहरू टाँसेर प्रचारप्रसार भइरहेको छ। सयौँ अटो र रिक्साहरू पोस्टर सजाएर सडकमा गुडिरहेका देखिन्छन्।

चलचित्रका निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले दर्शकमाझ चलचित्रबारे जानकारी पुर्‍याउन हरेक सम्भावित माध्यमको प्रयोग गरिरहेको बताएका छन्। दर्शकलाई हलसम्म आकर्षित गर्न र प्रदर्शन मितिबारे सूचित गराउन स्थानीय तहमा प्रचार तीव्र पारिएको निर्मात्री पूजा गुरुङको भनाइ छ।

यसअघि काठमाडौँस्थित सिटी सेन्टरको बिग मुभिजमा आयोजना गरिएको विशेष शो (प्रिमियर) मा चलचित्रले दर्शक र चलचित्रकर्मीहरूबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो।

ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा छाउपडी प्रथाका कारण बालिकाहरूले भोग्नुपरेको सामाजिक पीडा र दुर्व्यवहारलाई मुख्य विषयवस्तु बनाइएको छ। समाज र देश परिवर्तनका लागि एक जना 'हली' नै काफी हुन्छ भन्ने सन्देश बोकेको यस चलचित्रको ट्रेलर, पोष्टर र प्रमोशनल गीतले यसअघि नै चर्चा कमाइसकेका छन्।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को संयुक्त ब्यानरमा निर्मित यस चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह-निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्।

चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ। चलचित्रको विशेष प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माजस्ता चर्चित कलाकारहरूको विशेष नृत्य हेर्न पाइनेछ।

राहुल राईको छायाङ्कन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन, तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रमा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको सङ्गीत रहेको छ।

निर्माता जश्मिन श्रेष्ठको शब्द, बाबुल गिरीको सङ्गीत तथा बाबुल गिरी र शान्ति श्री परियारको स्वर रहेको गीत चलचित्रमा समावेश छ। ओम प्रतीक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको यस चलचित्रलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ।

छुटाउनुभयो कि ?