बाँके। बाँकेको कोहलपुरस्थित एक गेस्ट हाउसमा लगेर दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले फरार रहेका थप एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खजुरा गाउँपालिका–२ निवासी २८ वर्षीय मोहन सत्याल रहेका छन्। घटनापछि फरार रहेका उनलाई बाँके प्रहरीले साउन १७ गते खजुरा गाउँपालिका–५ स्थित नेपालगञ्ज–गुलरिया हुलाकी सडकखण्डबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार यही साउन ११ गते राति करिब ७:३० बजे कोहलपुर नगरपालिका–११, हरियालीमार्ग बसपार्क नजिकै रहेको सत्यानी गेस्ट हाउसमा लगेर १४ र १५ वर्षीया दुई किशोरीलाई रातभर पालैपालो सामूहिक जबर्जस्ती करणी गरिएको थियो। उक्त अपराधमा सत्यालसँगै सोही ठाउँका २० वर्षीय प्रदीप सुनार संलग्न रहेको उजुरी परेको थियो।
घटनालगत्तै खटिएको प्रहरी टोलीले प्रतिवादी प्रदीप सुनारलाई साउन १२ गते नै पक्राउ गरिसकेको थियो। फरार रहेका सत्यालसमेत पक्राउ परेसँगै दुवै जनामाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।