भोटेकोशी बाढीले खोस्यो पौडेल परिवारको सहारा

भोटेकोशी बाढीले खोस्यो पौडेल परिवारको सहारा

बर्दिया। भोटेकोशीमा आएको भीषण बाढीले बर्दियाको बाँसगढी नगरपालिका-८, लक्ष्मणाका पौडेल परिवारमा कहिल्यै नपुर्ने घाउ छाडेको छ। नुवाकोटस्थित त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत इलेक्ट्रिकल इन्जिनियर सोमनाथ पौडेलसहित उनको सिंगाे परिवार बाढीमा परी सम्पर्कविहीन भएपछि पौडेल परिवार छाँगाबाट खसेजस्तै भएको छ।

बाढीमा परी ३० वर्षीय सोमनाथ, उनकी पत्नी तारा उपाध्याय तथा २८ महिनाका जुम्ल्याहा सन्तान (छोरा शिवान्स र छोरी तिसिया) एकाएक हराएका हुन्। छोराछोरी साना भएकाले सोमनाथ परिवारसहित नुवाकोटमै बस्दै आएका थिए।

आफूले दुःख-कष्ट सहेर भारतको चेन्नईस्थित अन्न विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियर पढाएको छोरा बुढेसकालको सहारा बन्ने बेला सिङ्गो परिवार नै बेपत्ता भएपछि बुबा उमानाथ र आमा लक्ष्मी उपाध्याय निरन्तर शोकमा छन्।

सोमनाथका दाजु तुलसीराम पौडेलले भाइ र उनको परिवारको खोजीमा दुईपटक नुवाकोट पुगेर सात दिनसम्म खोजी गर्दा पनि कुनै पत्तो पाउन नसकिएको बताए। उनका अनुसार साथमा काम गर्ने सहकर्मीहरूले बाढी आउनुभन्दा केही मिनेट अघिसम्म सोमनाथलाई पावर हाउसको कार्यालयभित्र छिर्दै गरेको देखेका थिए।

सम्पर्कविहीन भएकाहरूको पहिचानका लागि बुबा उमानाथले भदौ २१ गते जिल्ला अस्पताल गुलरियामा डिएनए  परीक्षणका लागि रगतको नमूना दिएका छन् भने बुहारीतर्फका ससुरा चन्द्रमणि उपाध्यायले पनि रगतको नमूना बुझाएका छन्। यद्यपि, डिएनए रिपोर्ट आउन भने बाँकी नै छ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालका अनुसार कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका बर्दियाका ७६ जना अझै सम्पर्कविहीन छन्। जसमध्ये बाँसगढी नगरपालिकाका मात्रै १२ जना रहेका छन् भने ५३ जना सकुशल घर फर्किसकेका छन्।