हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

सुर्खेत । डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ ।

गत १४ कात्तिकदेखि हिमपातका कारण सम्पर्कविहीन भएका दुई महिला र चार पुरुषसहित ६ भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

सोमबार बिहान साढे ६ बजे उडेको हेलिकप्टरले सुरुमा दुई महिलालाई उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याएको थियो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । त्यसपछि बाँकी चार पुरुषको उद्धारका लागि हेलिकप्टर पुनः घटनास्थल पुगेको थियो । उनीहरूलाई पनि सकुशल उद्धार गरिएको छ ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले ६ जना भारतीय पर्यटकको सकुशल उद्धार गरिएको जानकारी दिइन् । उनका अनुसार उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमा हिमपातका कारण पर्यटक फसेको जानकारी प्राप्त भएको थियो । त्यसपछि उद्धारका लागि पहल गरिए पनि प्रतिकूल मौसम र हेलिकप्टर व्यवस्थापनमा आएको समस्याका कारण उद्धारमा ढिलाइ भएको थियो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार भारतीय पर्यटक आवश्यक प्रशासनिक अनुमति नलिई माथिल्लो डोल्पा पुगेका थिए । उनीहरू डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालतर्फ फर्कने क्रममा नुमला र वाग्ला पास आसपासको क्षेत्रमा हिमपातमा फसेका थिए ।

मौसम प्रतिकूल रहेको र भारी हिमपातको जोखिम भएकाले प्रशासन तथा स्थानीयवासीले हिमाली क्षेत्रमा यात्रा नगर्न सुझाव दिएका थिए । तर, आवश्यक अनुमति नलिई जोखिमपूर्ण मार्गबाट यात्रा गर्दा उनीहरू समस्यामा परेका थिए ।