विराटनगर । विराटनगरमा शंकास्पद वस्तु विस्फोट हुँदा दुईजना घाइते भएका छन् । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा आइतबार बिहान फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट भएको हो ।
प्रहरीका अनुसार बिहान करिब ११ : ३० बजे भएको विस्फोटमा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका छन् । विस्फोटबाट खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । घाइते दुवैजनालाई उपचारका लागि स्थानीय जितु मेडिकल पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।