दीपमाला ढकाल बनिन् 'मिस नेपाल वर्ल्ड २०२६', आर्या र कशिशले जिते अन्य मुख्य विधा

दीपमाला ढकाल बनिन् 'मिस नेपाल वर्ल्ड २०२६', आर्या र कशिशले जिते अन्य मुख्य विधा

काठमाडौं। 'मिस नेपाल–२०२६' को मुख्य उपाधि (मिस नेपाल वर्ल्ड) दीपमाला ढकालले जितेकी छन्। ललितपुरको द प्लाजा पुल्चोकमा आयोजित भब्य ग्राण्ड फिनालेमा उत्कृष्ट प्रदर्शन गर्दै उनले ताज आफ्नो नाम गरेकी हुन्।

सोही प्रतियोगितामा आर्या निशांत 'मिस नेपाल इन्टरनेशनल' र कशिश सुब्बा 'मिस नेपाल कोस्मो' घोषित भए। द हिडन ट्रेजरद्वारा आयोजित उक्त ग्राण्ड फिनालेमा मिस कोस्मो योलिंडा लिंडक्विस्ट लगायतका विशिष्ट व्यक्तिहरू निर्णायक (जज) का रूपमा सहभागी थिए।

ब्ल्याकरककी रणनीतिकारदेखि ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडीसम्म
 

नयाँ मिस नेपाल दीपमाला ढकाल बहुप्रतिभाशाली व्यक्तित्व हुन्। उनी यसअघि 'मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६' को उपाधि विजेता समेत हुन्। हाल उनी विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी 'ब्ल्याकरक' (BlackRock) मा इन्भेस्टमेन्ट स्ट्राटेजिस्ट (लगानी रणनीतिकार) का रूपमा कार्यरत छिन्।

पेसागत सफलताका अलावा उनी तेक्वान्दोकी ब्ल्याक बेल्ट खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) र म्याराथन धाविका पनि हुन्। दीपमालाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बनेर कीर्तिमान समेत बनाएकी थिइन्।

क्यान्सर सचेतना र पारिवारिक पृष्ठभूमि
 

हाल नेपाल क्यान्सर अस्पतालकी 'गुडविल एम्बास्डर' रहेकी दीपमालाले मिस वर्ल्डको अन्तर्राष्ट्रिय मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना फैलाउने आफ्नो मुख्य अभियानलाई अघि बढाउने लक्ष्य राखेकी छन्।

दीपमालाको यो जितसँगै पारिवारिक निरन्तरता पनि जोडिएको छ। उनकी आमाले सन् १९९४ मा आयोजना भएको पहिलो ऐतिहासिक 'मिस नेपाल' प्रतियोगितामा प्रतिस्पर्धीका रूपमा सहभागिता जनाएकी थिइन्।

छुटाउनुभयो कि ?