सिराहा । गृहमन्त्री सुदन गुरुङ आउने भएपछि सिराहाका मृतक गणेश यादवको घरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मृतकका छिमेकी तथा आफन्तले गृहमन्त्रीलाई घर प्रवेश गर्न नदिने बताएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाइएको हो । गोली लागेर आफ्ना आफन्तको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन् ।
गृहमन्त्री गुरुङको आगमनअघि अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायका जिल्लास्थित अधिकारीहरू मृतक यादवको घर पुगेका छन् ।
सम्भावित परिस्थितिलाई नियन्त्रणमा राख्न तथा सुरक्षा व्यवस्थाको आकलन गर्न सुरक्षा अधिकारीहरू गृहमन्त्रीको आगमनअघि नै घटनास्थलमा पुगेका हुन् ।
सुनसरीमा भएको घटनाको विरोधमा सिराहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा औरही गाउँपालिका–२, तुलसियाहीका १५ वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएको थियो ।