हमास–इजरायल सहमति: गाजाबाट इजरायली सेनाको चरणबद्ध फिर्ती र हतियार व्यवस्थापनमा सम्झौता

हमास–इजरायल सहमति: गाजाबाट इजरायली सेनाको चरणबद्ध फिर्ती र हतियार व्यवस्थापनमा सम्झौता

काठमाडौं। करिब छ महिना लामो कठिन वार्तापछि गाजा युद्ध अन्त्य गर्ने लक्ष्यका साथ हमास र इजरायलबीच सहमति जुटेको छ। हमासका वरिष्ठ अधिकारीहरूका अनुसार यस सम्झौतामा समूहका हतियारको व्यवस्थापन तथा गाजा पट्टीबाट इजरायली सेनाको चरणबद्ध फिर्तीसम्बन्धी महत्त्वपूर्ण प्रावधानहरू समेटिएका छन्।

हमास वार्ता टोलीका सदस्य गाजी हमादले सर्वसाधारणको हत्या र विस्थापन रोक्न आफ्नो पक्षले आवश्यक सहुलियत दिएको जानकारी दिए। सम्झौता अनुसार इजरायलले हमासको निःशस्त्रीकरण प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गर्ने छैन; बरु यसको सम्पूर्ण जिम्मेवारी ‘गाजा प्रशासनका लागि राष्ट्रिय समिति’ (NCAG) ले लिनेछ। उक्त समितिले तोकिएको समयतालिका अनुसार हतियारको सूचीकरण, भण्डारण र नियन्त्रणको कार्य गर्नेछ।

अन्तर्राष्ट्रिय मध्यस्थकर्ता तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'शान्ति बोर्ड'को पहलमा बनेको यो समितिले गाजाको नागरिक प्रशासन सम्हाल्ने बाटो खुलिसकेको छ। हमासले यसअघि नै दुई दशकदेखि चलाउँदै आएको आफ्नो प्रशासनिक निकाय विघटन गर्ने घोषणा गरिसकेको छ।

गाजामा युद्ध अन्त्य, इजरायली सेनाको फिर्ती, राष्ट्रिय समितिको परिचालन, पुनर्निर्माण र सम्भावित अन्तर्राष्ट्रिय सुरक्षा बलको तैनातीजस्ता विषयहरू एकीकृत ढाँचाअन्तर्गत अघि बढाइने हमादले स्पष्ट पारे। हमासका हतियार व्यवस्थापन र इजरायली सेनाको फिर्ती प्रक्रिया समानान्तर रूपमा अघि बढ्नेछ।

अबका १४ दिन वा सोभन्दा बढी समय मध्यस्थकर्ताहरूसँग कार्यान्वयनको प्राविधिक विवरण र समयतालिकामाथि छलफल हुनेछ। दुवै पक्षले प्रतिबद्धता पूरा गरेमा मात्र यो सम्झौता पूर्ण रूपमा लागू हुने बताइएको छ। गत अक्टोबर १० मा युद्धविराम लागू भए पनि हाल गाजाको ६० प्रतिशतभन्दा बढी भूभाग इजरायली सेनाको नियन्त्रणमा रहेको छ।

छुटाउनुभयो कि ?