धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न आईजीपी कार्कीको अपिल

धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न आईजीपी कार्कीको अपिल

काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सम्पूर्ण नागरिकलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन्।

एक भिडियो सन्देश जारी गर्दै आईजीपी कार्कीले नेपाल विविधतामा एकताको गौरवमय इतिहास बोकेको देश भएको उल्लेख गरे। धर्म, भाषा, जातजाति र संस्कृतिको भिन्नताका बाबजुद नेपालीहरू बीच आपसी सम्मान, सहिष्णुता र सद्भावको लामो परम्परा रहेको बताउँदै उनले यो विविधता नै नेपालको पहिचान र शक्ति भएको जोड दिए।

पछिल्लो समय विशेषगरी पूर्वी तराईका केही क्षेत्रमा धार्मिक सद्भावमा खलल पुर्‍याउने र सर्वसाधारणमा डर-त्रास सिर्जना गर्ने गतिविधि देखिएकोमा उनले दुःख व्यक्त गरे।

यसैगरी, सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने र कानुनविपरीतका कार्यमा संलग्न हुने गतिविधिले समाजमा तनाव र विभाजन मात्र बढाउने उनको भनाइ छ। संवेदनशील परिस्थितिमा संयम र विवेकका साथ प्रस्तुत हुन आग्रह गर्दै आईजीपी कार्कीले एकअर्काको आस्था र मर्यादाको सम्मान गर्नु सबै नागरिकको साझा दायित्व भएको बताए।

छुटाउनुभयो कि ?