सुनसरी र सिरहा घटनाप्रति सरकार गम्भीर, दोषीमाथि कडा कारबाही हुने प्रधानमन्त्रीको प्रतिबद्धता

सुनसरी र सिरहा घटनाप्रति सरकार गम्भीर, दोषीमाथि कडा कारबाही हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज र सिरहा लगायतका स्थानमा भएका दुःखद घटनाप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन्। सम्बोधनका क्रममा उनले घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेका छन्।

प्रधानमन्त्रीले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित निकायलाई कडा निर्देशन दिइसकिएको जानकारी गराएका छन्।

घटनालगत्तै सुरक्षा निकाय घटनास्थलमा परिचालन भई शान्ति सुरक्षा कायम गर्न सक्रिय रहेको बताउँदै प्रधानमन्त्रीले गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरे। स्थिति सामान्य बनाउन केन्द्रमा सर्वदलीय बैठक आयोजना गरिएको, गृहमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगेर वस्तुस्थिति अनुगमन गरिरहेको र राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट समेत आवश्यक निर्णय भइसकेको उनले स्पष्ट पारे।

स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज र धार्मिक अगुवाहरूसँग निरन्तर संवाद भइरहेको भन्दै उनले जनधनको थप क्षति हुन नदिन सरकार पूर्ण रूपमा क्रियाशील रहेको बताए।

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह, घृणा र समुदायबीच वैमनस्य बढाउने सामग्री प्रचारप्रसार नगर्न आग्रह गर्दै प्रधानमन्त्रीले नागरिकलाई केवल आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेका छन्।

नागरिकको जिउधनको रक्षा, सामाजिक सद्भाव र शान्ति सुरक्षा सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व भएको उल्लेख गर्दै उनले अराजकता फैलाउने र सद्भाव खलबल्याउने गतिविधिविरुद्ध सरकारले कडा कदम चाल्ने चेतावनी दिए।

नेपालको संविधानले प्रत्येक नागरिकलाई धर्म र संस्कृतिको मौलिक अधिकार दिएको स्मरण गराउँदै प्रधानमन्त्रीले कुनै पनि धर्मले हिंसा वा घृणाको शिक्षा नदिने बताए। देशको कुनै एक स्थानमा भएको घटनालाई लिएर सम्पूर्ण समुदायलाई दोषी ठहर्‍याउनु वा प्रतिशोधको भावना फैलाउनु गलत भएको उनको भनाइ थियो। सम्बोधनको अन्त्यमा उनले राष्ट्रिय एकता, शान्ति र भाइचारा कायम राख्न सबै राजनीतिक दल, सञ्चारमाध्यम, धार्मिक समुदाय र नागरिक समाजलाई संयमित भई सहयोग गर्न अपिल गरे।

छुटाउनुभयो कि ?