जोर्डन आक्रमणपछि अमेरिकाको कडा कदम: इरानी सैन्य अखडामा हवाई हमला

जोर्डन आक्रमणपछि अमेरिकाको कडा कदम: इरानी सैन्य अखडामा हवाई हमला

तेहरान। जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले गरेको क्षेप्यास्त्र आक्रमणको प्रयासपछि संयुक्त राज्य अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा व्यापक जवाफी आक्रमण गरेको छ।

करिब एक सातादेखि रोकिएको सैन्य भिडन्त पुनः सुरु भएसँगै कुटनीतिक वार्तामार्फत तनाव कम हुने आशामा गम्भीर धक्का लागेको छ भने समग्र मध्यपूर्व क्षेत्र फेरि युद्धको अत्यन्त जोखिमपूर्ण चरणमा प्रवेश गरेको छ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले यस कारबाहीलाई मध्यपूर्वमा तैनाथ आफ्ना सैनिकमाथि भएको इरानी आक्रमणको ‘शक्तिशाली प्रतिक्रिया’ भएको स्पष्ट पारेको छ। आक्रमणअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै इरानलाई ‘कडा प्रहार’ गरिने चेतावनी दिएका थिए।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार पश्चिमोत्तर पिरानशहर सीमावर्ती क्षेत्रमा अमेरिकी क्षेप्यास्त्र प्रहार भएको छ। फार्स समाचार एजेन्सीले आक्रमण निर्जन क्षेत्रमा भएकाले मानवीय क्षति भने नभएको जनाएको छ।

त्यसअघि जोर्डनको सेनाले इरानबाट प्रहार गरिएका पाँचवटा क्षेप्यास्त्र आकाशमै अवरोध गरी नष्ट गरेको जानकारी दिएको थियो। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले भने ती आक्रमण अमेरिकी सैन्य अड्डालाई लक्षित रहेको दाबी गर्दै इरानमाथिको खतरा कायम रहेसम्म प्रतिरोधात्मक कारबाही जारी रहने चेतावनी दिएको छ।

युद्धको अर्को मोर्चामा इजरायलले लेबनानबाट हिजबुल्लाहले इजरायली सवारीसाधनलाई लक्षित गरी ड्रोन प्रयोग गरेको आरोप लगाउँदै त्यसलाई युद्धविरामको स्पष्ट उल्लंघन भनेको छ। यसअघि इजरायलले इरानविरुद्धको युद्धको प्रारम्भिक चरणमा अमेरिकासँग संयुक्त रूपमा कारबाही गरेको भए पनि पछिल्लो अमेरिकी आक्रमणमा उसको प्रत्यक्ष सहभागिता पुष्टि भएको छैन।

यसैबीच अमेरिका र साउदी अरेबियाले इराकभित्र सक्रिय इरानसमर्थित सशस्त्र समूहका आधार शिविर तथा हतियार भण्डारण स्थललाई लक्षित गरी संयुक्त हवाई आक्रमण गरेका छन्। अमेरिकी सेनाले रसद तथा हतियार डिपोहरूमा प्रहार गरिएको जनाएको छ।

इराकको हसद अल-शाबी गठबन्धनले उक्त आक्रमणमा आफ्ना कम्तीमा २० सदस्य मारिएको दाबी गर्दै यसलाई इराकको आधिकारिक सुरक्षा संरचनामाथिको ‘खतरनाक वृद्धि’ भन्दै तीव्र निन्दा गरेको छ।

हसदका अधिकारीहरूका अनुसार मारिनेमा पाँच जना इरानी सैन्य सल्लाहकार समेत रहेका छन्। सन् २०१४ मा जिहादी समूहविरुद्ध लड्न गठन गरिएको हसद अल-शाबी पछि इराकी सुरक्षा संरचनामा समाहित भएको थियो, जसमा इरानसँग निकट सम्बन्ध रहेका विभिन्न सशस्त्र समूहहरू आबद्ध छन्।

इराक सरकारले अमेरिका र साउदीको यो संयुक्त आक्रमणको कडा विरोध गर्दै आफ्नो सार्वभौमसत्तामाथिको हस्तक्षेप अस्वीकार्य भएको जनाएको छ। राष्ट्रिय सुरक्षा परिषद्ले इराकको भूमि कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिइने नीति दोहोर्‍याएको छ।

यद्यपि राष्ट्रपति ट्रम्पले भने यो कारबाही इराकी सरकारसँगको समन्वयमै गरिएको दाबी गरेका छन्। यी घटनाक्रम अमेरिकाले इरानसमर्थित सशस्त्र समूहहरूलाई निःशस्त्रीकरण गर्न इराकमाथि दबाब बढाइरहेका बेला भएका हुन्, जब कि यसै महिनाको सुरुआतमा इराकका प्रधानमन्त्री अली अल–जैदीले अमेरिका र इरान दुवै देशको भ्रमण गरेका थिए।

यस भिडन्तका कारण विश्व ऊर्जा बजारमा व्यापक तरंग पैदा भएको छ। कच्चा तेलको मूल्य ह्वात्तै बढेपछि अमेरिकी सेयर बजारमा तीव्र गिरावट आएको छ भने ३० वर्षे अमेरिकी ट्रेजरी बन्डको प्रतिफल सन् २००७ यताकै उच्च स्तरमा पुगेको छ।

यसअघि अमेरिका र इरानबीच तनाव कम गर्दै नयाँ चरणको वार्ता सुरु गर्ने प्रयास भइरहेका थिए, जसको केन्द्रमा विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी रहेको थियो। हर्मुज जलघाँटीलाई इरानले युद्धको अधिकांश अवधिमा प्रभावकारी रूपमा नियन्त्रणमा राख्दै आएको छ।

इरानको रिभोलुसनरी गार्ड्सले उक्त जलघाँटीमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गर्दै तीनवटा तेल ट्यांकर नियन्त्रणमा लिएको र सो मार्ग प्रयोग गर्ने जहाजहरूबाट शुल्क उठाउने योजना सार्वजनिक गरेको छ। वासिङ्टनले भने यस कदमको कडा विरोध गर्दै इरानको रिभोलुसनरी गार्ड्ससँग सम्बद्ध संस्था र व्यक्तिहरूमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। हर्मुज मार्गमा बढ्दो असुरक्षाका कारण साउदी अरेबियाको वैकल्पिक निर्यात मार्गका रूपमा लाल सागरको रणनीतिक महत्त्व झन् बढेर गएको छ।

छुटाउनुभयो कि ?