काठमाडौं। सरकारले सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडपको घटना छानबिन गर्न गठित समितिमा दुई जना प्राविधिक सदस्य थप गरेको छ।
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै ब्यालिस्टिक र फरेन्सिक विशेषज्ञका रूपमा प्रहरी उपरीक्षक मोहनसिंह धामी र प्रहरी निरीक्षक दीपेश अवस्थीलाई समितिमा मनोनयन गरेको हो। घटनाको निष्पक्ष र प्राविधिक अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिइएको छ।
गत आइतबार राति भएको उक्त झडपको सत्यतथ्य पत्ता लगाउन सोमबार गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
सुनसरी घटनापछि गृह मन्त्रालयले सम्भावित जोखिम रहेका अन्य जिल्लाहरूमा समेत सुरक्षा सतर्कता र पूर्वतयारी तीव्र पारेको छ। धार्मिक तथा सामाजिक सद्भाव बिग्रन नदिन बाँके, कपिलवस्तु, धनुषा, सिरहा र सप्तरी लगायतका जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीहरूमार्फत आवश्यक समन्वय र अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ।
बुधबार गृहमन्त्री, गृहसचिव र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा बसेको बैठकले देशको समग्र र जिल्लागत सुरक्षा अवस्थाको समीक्षा गर्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्ने निष्कर्ष निकालेको छ।
मन्त्रालयका अनुसार देवानगञ्जलगायतका संवेदनशील क्षेत्रहरूमा हाल अवस्था सामान्य बन्दै गएको छ।