काठमाडौँ। संसदीय सुनुवाइ समिति (संयुक्त) ले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका मानबहादुर कार्कीसहित अन्य दुई निर्वाचन आयुक्तहरूको नाम सर्वसम्मत अनुमोदन गरेको छ। बुधबार बसेको समितिको बैठकले सुनुवाइ प्रक्रिया पूरा गरी उहाँहरूको नाम अनुमोदन गरेको हो।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार संवैधानिक परिषद्को गत असार १९ गतेको निर्णयअनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका मोरङका मानबहादुर कार्कीको नाम संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २६ अनुसार सर्वसम्मत रूपमा स्वीकृत गरिएको हो।
यसैगरी, निर्वाचन आयुक्त पदका लागि सिफारिस हुनुभएका गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा (काठमाडौँ) को नाम पनि समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ।
कार्ययोजना परिमार्जन गर्न निर्देशन
सुनुवाइका क्रममा प्रस्तावित पदाधिकारीहरूले प्रस्तुत गर्नुभएको कार्ययोजनालाई समितिले केही निर्देशनसहित स्वीकृत गरेको छ। कार्ययोजनालाई थप परिणाममुखी र व्यावहारिक बनाउन स्पष्ट सूचक, समयसीमा, अपेक्षित उपलब्धि तथा कार्यान्वयन योग्य गतिविधिहरू समेटेर परिमार्जन गरी पुनः समितिमा पेस गर्न निर्देशन दिइएको सभापति श्रेष्ठले जानकारी दिनुभयो। सुनुवाइमा प्राप्त सुझावहरूलाई समेत समेटेर कार्ययोजना सुधार गर्न समितिले उनीहरूलाई भनेको छ।