सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा आयोजित विशेष समारोहका बीच बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री शाहीलाई शपथ गराएका हुन्।
नेपाली कांग्रेसका शाही नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्रीले शपथ लिए पनि प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भने तत्कालका लागि रोकिएको छ। सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसकेपछि अन्य मन्त्रीहरूको नियुक्ति र शपथ ग्रहण हुन नसकेको हो।
दुवै दलले आ-आफ्नो अडान कायम राख्दा मन्त्रालय विभाजन र नेतृत्वबारे थप छलफल आवश्यक बनेको बताइएको छ।