धार्मिक-साम्प्रदायिक सद्भाव जोगाउन दलहरू एकमत, सर्वदलीय बैठकबाट सामूहिक पहलको प्रतिबद्धता

धार्मिक-साम्प्रदायिक सद्भाव जोगाउन दलहरू एकमत, सर्वदलीय बैठकबाट सामूहिक पहलको प्रतिबद्धता

काठमाडौं। सुनसरीमा घटेको संवेदनशील घटना र त्यसपछि उत्पन्न असहज परिस्थितिबारे साझा धारणा तय गर्न सत्ता नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा आयोजना गरिएको उक्त बैठकमा विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूले आ-आफ्नो धारणा राख्दै शान्ति र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गर्ने विषयमा सहमति जनाएका छन्।

बैठकपछि सञ्चारकर्मीहरूसित कुरा गर्दै रास्वपा सभापति लामिछानेले सम्प्रदायिक सद्भाव खलबलिन नदिन सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिएको र चाँडै नै दलहरूको तर्फबाट एउटा साझा वक्तव्य सार्वजनिक गरिने जानकारी दिए।

सुनसरी घटनालाई लिएर सरकारको उपस्थिति कमजोर रहेको भन्ने आलोचनाबारे टिप्पणी गर्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो जिम्मेवारीनुसार काम गरिरहेको भन्दै सरकारको बचाउ गरे।

अहिले आरोप-प्रत्यारोप र चर्का कुरा गर्ने भन्दा पनि पहिलो दायित्व शान्ति-सुव्यवस्था कायम गर्नु रहेको उल्लेख गर्दै उनले संवेदनशील समयमा सामाजिक सद्भाव नभड्कियोस् भनी सबै पक्षलाई गम्भीर र संयमित हुन अनुरोध गरे।

बैठकमा विपक्षी तथा सहभागी दलका नेताहरूले भने घटनाको गम्भीरता, सुरक्षा निकायको भूमिका र सरकारको उपस्थितिलाई लिएर विभिन्न प्रश्न उठाएका थिए।

नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै साम्प्रदायिक सद्भाव पुनःस्थापित गर्न राजनीतिक दलहरूले जनस्तरमा संवाद गर्नुपर्ने र प्रधानमन्त्रीबाट अझ प्रभावकारी समन्वयको अपेक्षा रहेको बताए।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भीड नियन्त्रण तथा द्वन्द्व व्यवस्थापनमा सुरक्षा निकायहरूले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको टिप्पणी गर्दै जिल्ला प्रशासनको नेतृत्वमा स्थानीय तहमा सर्वदलीय संवाद र शान्ति र्‍याली आयोजना गरिनुपर्नेमा जोड दिए।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय मुद्दामा संवादको पहल हुनु सकारात्मक रहेको उल्लेख गर्दै घटनास्थलमा केही शंकास्पद र गैरनेपाली व्यक्तिहरूको उपस्थिति रहेको भनिएकाले सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने धारणा राखे।

यस्तै, श्रम संस्कृति पार्टीका आर्यन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका प्रकाश अधिकारी र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले धार्मिक तथा साम्प्रदायिक तनाव बढाउने अतिवादी तत्वहरूप्रति सतर्क रहँदै दीर्घकालीन समाधानका लागि निष्पक्ष आयोग गठन र स्थानीयस्तरमा संवाद चलाउनुपर्ने सुझाव दिए।

बैठकमा सहभागी नेताहरू महन्थ ठाकुर र कांग्रेसका भीष्मराज आङ्देम्बेले सुरक्षा निकाय र सेनाको परिचालनका विषयमा गम्भीर बन्न आग्रह गर्दै स्थानीय जनप्रतिनिधिहरूको सक्रियतामा जोड दिए।

सकारको तर्फबाट सहभागी भएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सर्वदलीय बैठकमा उठेका सम्पूर्ण सुझाव र निष्कर्षहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्समक्ष प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे।

रास्वपाका सांसद गणेश पराजुलीले आफूले प्रभावित क्षेत्रको भ्रमण गर्दा दुवै समुदाय त्रसित देखिएकाले स्थानीय तहमा सद्भाव कायम गर्न रास्वपा लागिपरेको जानकारी गराएका थिए। बैठकको अन्त्यमा सभापति लामिछानेले सबै दलहरू एकै ठाउँमा उभिएर राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन प्रतिबद्ध रहेको पुन: दोहोर्‍याए।

छुटाउनुभयो कि ?