काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीमा घटेको दुःखद घटनाका साथै मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार आज बिहान ८:०० बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा उक्त बैठक बोलाइएको हो। बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दलहरूलाई समेत आमन्त्रण गरिएको छ।
बैठकका लागि सम्पूर्ण दलहरूलाई औपचारिक पत्राचार गरिनुका साथै सभापति लामिछानेले आफैँ शीर्ष नेताहरूसँग फोनमार्फत संवाद गरी आमन्त्रण गरेको महामन्त्री आचार्यले जानकारी दिए।