काठमाडौं। प्रधानमन्त्रीले सुनसरीमा हालै घटेको दुःखद घटना र त्यसपछिको अशान्त वातावरणप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नागरिकको ज्यान जाने गरी भएको सो घटनाबारे गम्भीर समीक्षा गर्दै सरकारले पीडितलाई चाँडो भन्दा चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
घटनाका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीले आफू देशको कार्यकारी प्रमुखका रूपमा मात्र नभई यही देशको एक जिम्मेवार नागरिकका रूपमा पनि सुनसरीका घटनाक्रमबाट स्तब्ध भएको बताए।
सामान्य विषयबाट सुरु भएको विवादमा आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्नु र समाज नै अशान्त बन्नु कुनै पनि मानवता बोकेको व्यक्तिले चाहेको विषय नभएको उनको भनाइ छ।
सुनसरीमा घटेको सो घटनाका क्रममा सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानुका साथै केही व्यक्ति घाइते भएका थिए। सुरक्षा निकायको तर्फबाट यस्तो क्षति हुनुलाई कुनै पनि हालतमा सामान्य रूपमा लिन नसकिने स्पष्ट पार्दै प्रधानमन्त्रीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु भइसकेको र कसुरदारहरूलाई कानुनबमोजिम कडा कारबाही हुने विश्वास दिलाए।
घटनाको सुरुवातदेखि नै सरकारको उपस्थिति रहे पनि त्यो पर्याप्त नभएको स्वीकार गर्दै सम्पूर्ण घटनाक्रमको गम्भीर समीक्षा गरी फेरि यस्ता घटना दोहोरिन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको उनले जानकारी दिए।
प्रधानमन्त्रीले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। पीडित परिवारको दुःखमा सरकार साथमा रहेको महसुस गराउँदै सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाएर चाँडो भन्दा चाँडो परिणाम दिने उनको भनाइ छ। मानिसको पहिलो धर्म मान्छे जोगाउनु भएको र सरकारको प्रमुख दायित्व नागरिकलाई सुरक्षा दिँदै दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउनु रहेको उनले स्मरण गराए।
छिटोभन्दा छिटो न्यायको अनुभूति गराउन सरकार क्रियाशील रहेकाले त्यतिन्जेलका लागि सम्पूर्ण नागरिकलाई संयमित रहन पनि प्रधानमन्त्रीले अपिल गरेका छन्। मनमा रहेका रिस, डर, तुष र आक्रोशलाई हटाएर उत्तेजित हुने वा गराउने कुनै पनि गतिविधिमा सरिक नहुन आग्रह गर्दै उनले एकअर्कालाई प्रेम र सम्मानका साथ सामाजिक सद्भाव कायम राख्न देशवासीसँग अनुरोध गरेका छन्।