माइतीघरमा लघुवित्तपीडितको आमरण अनशन सुरू, वित्तीय शोषण बन्द गर्न र प्रतिवेदन कार्यान्वयनको माग

माइतीघरमा लघुवित्तपीडितको आमरण अनशन सुरू, वित्तीय शोषण बन्द गर्न र प्रतिवेदन कार्यान्वयनको माग

काठमाडौँ। विगतका सहमति र मागहरू सम्बोधन नभएको भन्दै लघुवित्तपीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा मंगलबार बिहानदेखि आमरण अनशन सुरू गरेका छन्। गत आइतबार 'राजधानी मार्च' गरी सरकारको ध्यानाकर्षण गराएका उनीहरू आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले अनशनमा बसेका हुन्।

अनशनरत पीडितहरूले लघुवित्तसम्बन्धी विगतमा गठित समितिहरूका प्रतिवेदन सार्वजनिक गरी तत्काल कार्यान्वयन गर्नुपर्ने मुख्य माग राखेका छन्। साथै, लघुवित्त, बैंक तथा वित्तीय संस्थाहरूबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र अनुचित शुल्कहरू खारेज हुनुपर्ने उनीहरूको अडान छ।

यसैगरी, ऋणीहरूको जग्गा धितो लिलामी गर्ने र उनीहरूलाई कालोसूचीमा राख्ने कार्य तत्काल बन्द गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्।

सडक आन्दोलनमा उत्रिएका पीडितहरूले लघुवित्तका कर्मचारीहरूबाट आफूहरू निरन्तर मानसिक तथा व्यावहारिक सास्ती भोग्न बाध्य भएको गुनासो गरेका छन्। सरकारले पटक-पटक वार्ता र आश्वासन दिए पनि आफ्ना आधारभूत मागहरू अझै सम्बोधन नभएकाले बाध्य भएर आमरण अनशनजस्तो कडा कदम चाल्नुपरेको उनीहरूले बताएका छन्।

छुटाउनुभयो कि ?