सरकारी पक्षसँग ७ बुँदे सहमतिपछि डा. गोविन्द केसीद्वारा धनगढीमा अनसन अन्त्य

सरकारी पक्षसँग ७ बुँदे सहमतिपछि डा. गोविन्द केसीद्वारा धनगढीमा अनसन अन्त्य

काठमाडौं।धनगढीमा बिहीबारदेखि आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सरकारसँग ७ बुँदे सहमति भएसँगै आफ्नो अनसन तोडेका छन्।

डा. केसीका मागहरूबारे संवाद गर्न शनिबार काठमाडौँबाट धनगढी पुगेको सरकारी वार्ता टोलीसँगको सहमतिपछि उनले अनसन स्थगित गरेका हुन्। सहमतिपश्चात् डा. केसीले सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवाका रूपमा रहेका बाजुरा गौमुल गाउँपालिका–२ का चक्रबहादुर धामीको हातबाट जुस पिएका थिए। धामी सोही अस्पतालमा उपचाररत ८ वर्षीय बालक सुदीप कोइरालाका भिनाजु हुन्।

सरकारी वार्ता टोली र डा. केसी पक्षबीच भएको सम्झौताको मुख्य बुँदामा कैलालीस्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) मा तत्काल ३ सय शय्याको अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउने उल्लेख छ।

यसका साथै सहमतिपत्रमा देशको स्वास्थ्य सेवामा व्यापक सुधार, चिकित्सा शिक्षा ऐनको पूर्ण कार्यान्वयन तथा सुदूरपश्चिम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य र शिक्षाको पहुँच विस्तार गर्ने विषयहरू समेटिएका छन्।

छुटाउनुभयो कि ?