सुनसरी झडप प्रकरण : सीडीओ र सुरक्षा प्रमुखहरू फिर्ता, गृहद्वारा छानबिन समिति गठन र कर्फ्यु जारी

सुनसरी झडप प्रकरण : सीडीओ र सुरक्षा प्रमुखहरू फिर्ता, गृहद्वारा छानबिन समिति गठन र कर्फ्यु जारी

काठमाडौं। सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको हिंसात्मक झडपपछि गृह मन्त्रालयले जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा निकायका उच्च अधिकारीहरूलाई फिर्ता बोलाएको छ।

मन्त्रालयले सुनसरीका सीडीओ बासुदेव घिमिरेलाई फिर्ता बोलाएर उनको स्थानमा सङ्खुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई पठाएको छ।

प्रहरी र सशस्त्रका कमाण्डरहरू पनि फेरिए

घटनापछि प्रदेशदेखि जिल्ला तहसम्मका सुरक्षा कमाण्डरहरू परिवर्तन गरिएको छ:

  • प्रदेश प्रहरी: कोशी प्रदेश प्रहरी प्रमुख, डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ। उनको ठाउँमा डीआईजी शेखर खनाललाई पठाइएको छ।

  • जिल्ला प्रहरी: जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, एसपी केशव थेवेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पठाएर त्यहाँ कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरीको कमाण्ड सुम्पिएको छ।

  • सशस्त्र प्रहरी: सशस्त्र प्रहरी बल कप्तानगञ्जका डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर सशस्त्र प्रहरी प्रधान कार्यालयका डीएसपी मदन नाथलाई खटाइएको छ।

१ को मृत्यु, २४ घाइते : सहसचिवको संयोजकत्वमा छानबिन समिति

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको थियो। झडपका क्रममा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी कुल २४ जना घाइते भएका छन्।

गृह मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। समितिलाई प्रतिवेदन बुझाउन एक साताको समय दिइएको छ।

विवादित क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

झडपपछि उत्पन्न तनाव थप नबढोस् भन्नका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही संवेदनशील क्षेत्रहरूमा सोमबार बिहान ७ बजेदेखि नै लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।

छुटाउनुभयो कि ?