काठमाडौं। सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सूक्ष्म अनुसन्धान सुरु गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा सोमबार जारी विज्ञप्ति अनुसार, कोशी प्रदेश कार्यालय विराटनगरमार्फत घटनाको प्रारम्भिक अनुगमन सम्पन्न भइसकेको छ। अब मानव अधिकारका दृष्टिले घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको आयोगले जानकारी दिएको छ।
के थियो घटना?
पोलमा झण्डा राख्ने विषयबाट सुरु भएको सामान्य विवाद बोलबम यात्राका क्रममा ‘डिजे’ बजाउने विषयलाई लिएर उग्र बनेको थियो। दुई पक्षबीच ढुङ्गामुढा र तोडफोड हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।
प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको विराटनगरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
घटनापछि विभिन्न स्थानमा टायर बालेर प्रदर्शन हुनुका साथै आन्दोलनकारीहरू लाठी र रडसहित सडकमा उत्रिएपछि स्थानीय सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको आयोगले उल्लेख गरेको छ।
आयोगको माग र अपिल
आयोगले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, अस्पताल प्रशासन तथा स्थानीय सरोकारवालाहरूसँग निरन्तर संवाद र जानकारी लिइरहेको जनाएको छ। आयोगले सरकारसमक्ष निम्न मागहरू राखेको छ:
-
निष्पक्ष अनुसन्धान: घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने।
-
राहत र उपचार: मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति दिनुका साथै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने।
यसैगरी, आयोगले स्थिति थप बिग्रन नदिन राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी र सर्वसाधारणलाई संयमित भई सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। विवादको समाधान संवाद र सहकार्यबाट शान्तिपूर्ण रूपमा खोज्न पनि आयोगले सबै पक्षलाई आग्रह गरेको छ।