कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु

सुर्खेत। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्नको लागि आह्वान गरिएको हो ।

प्रदेश प्रमुखको कार्यालयले मङ्गलबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आग्रह गरेको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई साउन १२ गते साँझ ५ः०० बजेभित्र मुख्यमन्त्री पदको लागी दाबी पेस गर्नको लागि प्रदेश प्रमुख यज्ञराज जोशीले आह्वान गरेको सचिव हिरालाल चौधरीले जानकारी दिए।

प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उक्त आहन गर्नुभएको हो । शनिबार मुख्यमन्त्री यामलाल कँडेलले दिएको राजीनामा पनि स्वीकृत भएको छ ।

प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावपछि मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिनुभएको थियो ।असार ३२ गते नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलविरूद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

कँडेल पहिलो पटक २०८० चैत २७ गते नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनमा मुख्यमन्त्री बनेका थिए। झन्डै चार महिनापछि केन्द्रमा समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसको समर्थनमा आधाआधा कार्यकाल भागबन्डा गरी दोस्रो पटक २०८१ साउन २१ गते दोस्रो पटक विश्वासको मत लिएर मुख्यमन्त्री बनेका थिए। 

छुटाउनुभयो कि ?