धनगढी — २४औँ सत्याग्रहमा रहनुभएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग औपचारिक वार्ताका लागि सरकारद्वारा गठित तीन सदस्यीय टोली धनगढी पुगेको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा गठित टोलीमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव सदस्य रहेका छन्।
सरकारी टोलीले शनिबार डा. केसीसँग शिष्टाचार भेटघाट गरे पनि औपचारिक वार्ता भने आज (आइतबार) बस्ने तय भएको छ। डा. केसीका स्वास्थ्य सहयोगी डा. अमृत जैसीका अनुसार शनिबारको भेट सामान्य कुराकानीमा सीमित थियो। सरकारका प्रतिनिधिहरू डा. केसीले उठाएका मागप्रति कति गम्भीर हुन्छन् भन्ने कुराले नै वार्ताको भविष्य निर्धारण गर्ने र उहाँ आफ्ना अडानबाट पछि हट्ने स्थिति नरहेको जैसीले स्पष्ट पारे।
विगत केही दिनदेखि विभिन्न ७ बुँदे माग राखी सत्याग्रहमा हुनुहुन्छ। उहाँले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नियुक्त उपकुलपति र रजिस्ट्रारलाई बर्खास्त गरी नयाँ नियुक्ति गरिनुपर्ने, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने निर्णय रद्द हुनुपर्ने र पूर्वाधारविना निजी कलेजहरूमा सिट बढाउने कदम तत्काल रोक्नुपर्ने माग गर्नुभएको छ। यस्तै चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउन कानुनी प्रावधान कडाइका साथ लागू गर्नुपर्ने उहाँको अडान छ।
यसबाहेक विगतमा भएका सहमतिहरूको हुबहु कार्यान्वयन, सीमावर्ती तथा विकट क्षेत्रका नागरिकको स्वास्थ्य अधिकारको ग्यारेन्टी, र भदौ २३ तथा २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड एवम् हिंसाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने मागसमेत उहाँले अघि सार्नुभएको छ। डा. केसीको अडान र आज हुने वार्तालाई निकै चासोका साथ हेरिएको छ।