सीमाको वास्तविक अवस्था बुझ्न पूर्वजानकारी नदिई छड्के निरीक्षण गर्दैछौँ: गृहमन्त्री सुधन गुरुङ

सीमाको वास्तविक अवस्था बुझ्न पूर्वजानकारी नदिई छड्के निरीक्षण गर्दैछौँ: गृहमन्त्री सुधन गुरुङ

काठमाडाैं। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री सुधन गुरुङले दक्षिणी सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आफूले सीमावर्ती नाकाहरूमा नियमित रूपमा छड्के अनुगमन गरिरहेको बताएका छन्।

सुरक्षा निकायलाई पूर्वजानकारी नदिई स्थलगत निरीक्षण गर्दा त्यहाँको वास्तविक वस्तुस्थिति बुझ्न सजिलो हुनुका साथै कार्यक्षेत्रमा खटिएका निकायहरू थप जिम्मेवार र चनाखो हुने उनले स्पष्ट पारे।

अनुगमनका क्रममा मन्त्रालयका निर्देशनहरू कार्यान्वयन भए-नभएको हेर्ने, सीमाबाट हुने तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रण गर्ने र स्थानीय नागरिकका समस्या प्रत्यक्ष सुन्ने काम भइरहेको गृहमन्त्रीको भनाइ थियो। सीमा क्षेत्रका बासिन्दासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावका आधारमा मन्त्रालयमा छलफल गरेर कमजोरीहरू सुधार्दै लगिएको उनले बताए।

यसैगरी गृहमन्त्री गुरुङले सीमावर्ती क्षेत्रमा सीमित स्रोतसाधनका बाबजुद कठिन परिस्थितिमा खटिएका प्रहरी कर्मचारीहरूको योगदानको उचित मूल्यांकन हुन नसकेको उल्लेख गरे।

धेरैजसो सीमा नाकाका प्रहरी भवनहरू जीर्ण, चुहिने वा टहराजस्ता संरचनामा सीमित रहेको र पर्याप्त आवासीय सुविधा नहुँदा प्रहरीले कष्टकर रूपमा दिनरात ड्युटी गर्नुपरेको बताउँदै उनले प्रहरी संगठनको सुधारका लागि प्रहरी ऐनमा आवश्यक संशोधन गर्नुपर्ने आवश्यकतामा जोड दिए।

छुटाउनुभयो कि ?