गणतन्त्रका उपलब्धिमाथि नियोजित रूपमा नकारात्मक प्रचार भयो: प्रचण्ड

गणतन्त्रका उपलब्धिमाथि नियोजित रूपमा नकारात्मक प्रचार भयो: प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयाेजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापनापछि मुलुकले हासिल गरेका ऐतिहासिक उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक दुष्प्रचार भइरहेको बताएका छन्।

४८औं पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रपछि हासिल भएका राजनीतिक, सामाजिक र भौतिक विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको दाबी गरे।

अध्यक्ष प्रचण्डले देशमा गणतन्त्र स्थापना भएपछि धेरै सकारात्मक परिवर्तनहरू भए पनि तिनलाई ओझेलमा पार्ने गरी असत्य प्रचारको प्रहार भइरहेको टिप्पणी गरे। विशेष गरी भौतिक पूर्वाधारका क्षेत्रमा भएका अभूतपूर्व विकासका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा हासिल भएका प्रगतिलाई समेत अपमानित र अवमूल्यन गर्ने काम भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे।

उनले पुष्पलाल स्मृति दिवसलाई केवल श्रद्धाञ्जली अर्पण गर्ने औपचारिकतामा मात्र सीमित नराखी गणतन्त्रका उपलब्धि र कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलालको विचारअनुसार भएका परिवर्तनमाथि भइरहेको प्रतिगामी हमलाका विरुद्ध नयाँ अभियान सुरु गर्ने संकल्पको दिनका रूपमा लिनुपर्नेमा जोड दिए।

देशमा पछिल्लो समय परिवर्तनविरोधी हावा चलिरहेको भन्दै उनले त्यसका विरुद्ध वैचारिक र राजनीतिक प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याए।

यसैगरी, अध्यक्ष प्रचण्डले पुष्पलाल प्रतिष्ठानको भौतिक संरचनाको पुनर्निर्माणसँगै वैचारिक पुनर्जागरणलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए।

सामन्तवाद, साम्राज्यवाद र निरंकुशताविरुद्ध निरन्तर संघर्ष गर्न सक्ने बलियो वैचारिक आधार निर्माणका लागि नेपालको इतिहास, वर्गीय संरचना र सामाजिक विकासक्रमबारे गहन अध्ययन तथा अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो।

छुटाउनुभयो कि ?