काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान परिस्थितिमा वीपी कोइरालाको विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मार्गदर्शनलाई थप सान्दर्भिक रूपमा आत्मसात गर्दै पार्टीभित्र संवाद, सहमति र पूर्ण एकता कायम गर्नुपर्नेमा जोड दिएका छन्।
४४औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले पार्टी र मुलुकलाई सही दिशा दिन कांग्रेसभित्र आन्तरिक सुदृढीकरण अपरिहार्य रहेको बताए।
आफूले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेदेखि निवर्तमान हुँदासम्मको अवधिमा सर्वोच्च अदालतमा चलेका मुद्दा तथा निर्वाचन आयोगसँग सम्बन्धित विभिन्न सन्दर्भहरूमा धेरै विषय सार्वजनिक गर्न बाँकी रहेको उनले उल्लेख गरे।
देश तथा विदेशमा रहेका पार्टीका शुभेच्छुक, समर्थक र आम नागरिकलाई ती घटनाक्रमबारे उपयुक्त समयमा विस्तृत रूपमा जानकारी गराउने उनको भनाइ थियो। वीपी कोइरालाले जीवनभर संवाद र सहमतिका माध्यमबाट नै सबै राजनीतिक एवं राष्ट्रिय चुनौतीको समाधान खोज्ने नीति लिएको स्मरण गराउँदै खड्काले आजको नेतृत्वले पनि सोही दूरदर्शिता र सिद्धान्तको अनुसरण गर्नुपर्ने बताए।
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता र देशको अस्तित्व नै झनै ठूलो संकटमा रहेको दाबी गर्दै उहाँले यस्तो जटिल अवस्थामा केवल व्यक्तिहरूलाई जोडेर बनाइने एकता टिकाउ र प्रभावकारी नहुने स्पष्ट पारे।
उनका अनुसार विचार, नीति र सहमतिका आधारमा स्थापित हुने वास्तविक एकताले मात्र पार्टीमा नैतिक र भौतिक शक्ति सिर्जना गर्न सक्छ। कांग्रेसभित्रको सोही बलियो एकताले देशभर नयाँ उत्साह ल्याउने र अन्य राजनीतिक दलहरूलाई समेत एकताबद्ध गराउने हैसियत राख्ने उनले उल्लेख गरे। कार्यक्रममा कांग्रेस नेताहरू डा. शेखर कोइराला, प्रकाशशरण महत र एनपी साउँदलगायतले पनि वीपीका विचार र वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना धारणा राखेका थिए।