काठमाडौँं। उपचारका लागि भन्दै सिंगापुर हुँदै हङकङ पुगेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू छिट्टै स्वदेश फर्कने बताएका छन्। बीपी स्मृति दिवसको अवसरमा मंगलबार दुई पृष्ठ लामो वक्तव्य जारी गर्दै उनले जल्दै नेपाली भूमिमा फर्केर लोकतान्त्रिक आन्दोलन र संविधानवादलाई सुदृढ गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन्। यद्यपि, उनी कहिले नेपाल फर्कन्छन् भन्नेबारे वक्तव्यमा स्पष्ट पारिएको छैन।
देश निर्वाचनको संघारमा रहेका बेला गत फागुन १७ गते स्वास्थ्य उपचारको कारण जनाउँदै देउवा सिंगापुर प्रस्थान गरेका थिए। त्यसअघि भारतमा रहेकी उनकी पत्नी आरजू राणा देउवा पनि सिंगापुर पुगेकी थिइन्।
पछि देउवा दम्पती हङकङ पुगेर घुमफिर गरेको दृश्य सार्वजनिक भएको थियो। नेपालमा उनीहरूमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान जारी रहनुका साथै पक्राउ पुर्जीसमेत जारी भइसकेको छ। हाल देउवा कुन स्थानमा र कस्तो अवस्थामा छन् भन्ने स्पष्ट छैन भने जारी वक्तव्यमा पनि ठेगाना खुलाइएको छैन।
देउवा देशबाहिर रहेका बेला यतिबेला नेपाली कांग्रेस विभाजनको गम्भीर डिलमा पुगेको छ। तर, उनले आफ्नो वक्तव्यमा पार्टीभित्रको तीव्र आन्तरिक विवादबारे भने कुनै टिप्पणी गरेका छैनन्।
पार्टी विवादबारे मौन रहेका देउवाले वक्तव्यमार्फत लोकतन्त्र, संविधान र संवैधानिक निकायहरूमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति बढेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। स्वतन्त्र न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायलाई कार्यकारीको नियन्त्रणमा राखी विपक्षीलाई आतंकित पार्ने औजार बनाउने प्रयास कदापि स्वीकार्य नहुने चेतावनी उनले दिएका छन्।
अहिलेको प्रमुख आवश्यकता लोकतन्त्रको रक्षा, राष्ट्रिय एकता र सहकार्य भएको औंल्याउँदै देउवाले नेपाली कांग्रेस अब केवल प्रतिपक्षको भूमिकामा सीमित नरहेर लोकतन्त्र, संविधान र नागरिक सुरक्षाको संरक्षण गर्ने ऐतिहासिक जिम्मेवारीमा रहेको उल्लेख गरेका छन्।
विदेशमा रहे पनि आफ्नो ध्यान र चिन्ता सधैँ देश र जनताप्रति नै केन्द्रित रहेको दाबी गर्दै उनले देशलाई विभाजन नभई एकता, अविश्वास नभई विश्वास र प्रतिशोध नभई सहकार्यको खाँचो रहेको बताएका छन्। साथै, लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने गतिविधिविरुद्ध दृढतापूर्वक उभिन राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीलाई एकजुट हुन उनले आह्वान गरेका छन्।