जनकपुरधाम। जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका कार्यकर्ता र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच विवाद उत्पन्न भएको छ।
पार्टी अध्यक्ष हर्कराज साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम तय भएपछि उनलाई स्वागत गर्न मन्दिर पुगेका समर्थक र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच भनाभन भएको हो।
विवाद तीव्र बनेपछि सम्भावित झडपको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलताका कारण नेपाल प्रहरीले श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ताहरूलाई मन्दिर परिसरबाट बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
हिन्दु सम्राट सेनाका प्रतिनिधिहरूले भने विगतमा गाईको मासु खानुपर्ने विषयमा विवादास्पद अभिव्यक्ति दिएको आरोप लगाउँदै साम्पाङलाई जानकी मन्दिर प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन्।
यस घटनाप्रति प्रतिक्रिया दिँदै हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएका छन्। उनले 'गाई कसले खाएको रैछ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें, यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ? जय जानकी मन्दिर!' भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। मन्दिर क्षेत्रमा हुन सक्ने थप अशान्ति रोक्नका लागि स्थानीय प्रशासनले जनकपुरधाम र मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ।