काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडाहरूमा भारी मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
बीबीसी फारसीका अनुसार आईआरजीसीको जनसम्पर्क विभागले विज्ञप्ति जारी गर्दै आफ्नो नौसेना र एयरोस्पेस टोलीले ‘अपरेसन नस्र-२’ को २३औँ लहरअन्तर्गत तीन चरणमा आक्रमण गरी अमेरिकी सेनालाई ठुलो क्षति पुर्याएको जनाएको छ।
इरानी आक्रमणमा बहराइनको अल-सखिर हवाई अड्डामा रहेको अमेरिकी ड्रोन मर्मत केन्द्र, सेख इसा एयर बेस, सलमान बन्दरगाहमा रहेका ५औँ फ्लिट सम्बद्ध कमान्ड केन्द्रहरू र इन्धन भण्डारलाई निसाना बनाइएको छ।
त्यसैगरी कुवेतको आरिफजान बेसस्थित टीएफ५९ जहाज तयारी सुविधा, अली अल-सालेम एयर बेसका ड्रोन र्याम्प र पोर्ट अब्दुल्लाहमा रहेको अमेरिकी बन्दोबस्ती केन्द्रमा पनि हमला गरिएको इरानको दाबी छ।
अर्कोतर्फ, अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले लगातार नवौँ रात इरानभित्र रहेका सैन्य अखडाहरूमा भीषण हवाई र क्षेप्यास्त्र आक्रमण गरिएको पुष्टि गर्दै तस्बिरहरू सार्वजनिक गरेको छ।
अमेरिकाले इरानका सैन्य कमान्ड सेन्टर, तटीय निगरानी केन्द्र, वायु रक्षा प्रणाली र क्षेप्यास्त्र प्रक्षेपण पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। इरानले पनि आफ्ना उर्मिया, तब्रिज र बुसेहर क्षेत्रमा अमेरिकी हमला भएको पुष्टि गरेको छ। यी आक्रमणमा परी तब्रिजमा एक जनाको मृत्यु भएको छ भने उर्मिया र तब्रिजका विभिन्न स्थानमा धेरै मानिस घाइते भएका छन्।
यसैबिच इरानका संसद् सभामुख मोहम्मद बागेर गालिबाफले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अमेरिकाले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्। उनले अमेरिका एकातिर शान्ति र कूटनीतिको कुरा गर्ने तर अर्कातिर यस क्षेत्रमा निरन्तर अत्याधुनिक हतियार पठाइरहने दोहोरो चरित्रमा देखिएको बताएका छन्।
गालिबाफले इरानले अमेरिकी रणनीतिको पूर्ण आकलन गरिसकेको र सोही अनुसार प्रतिकारको तयारी गरेको स्पष्ट पारेका छन्। दुवै पक्षबाट भइरहेका यी भीषण प्रहारहरूले मध्यपूर्वमा थप व्यापक युद्धको खतरा बढाएको छ।