केन्द्रको निर्देशनपछि मात्रै निर्णय लिने एमालेको निष्कर्ष: बागमती प्रदेश सरकारबाट तत्काल नबाहिरिने

केन्द्रको निर्देशनपछि मात्रै निर्णय लिने एमालेको निष्कर्ष: बागमती प्रदेश सरकारबाट तत्काल नबाहिरिने

काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले पार्टी केन्द्रबाट औपचारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने भएका छन्। सोमबार काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्दै तत्काल सरकार छाड्ने निर्णय नगर्ने निष्कर्ष निकालेको हो।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार बदलिँदो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै पार्टी केन्द्र र अन्य राजनीतिक दलहरूसँग छलफल तथा संवादलाई निरन्तरता दिने निर्णय भएको छ। उहाँले हरेक दिन नयाँ राजनीतिक घटनाक्रम विकसित भइरहेकाले पार्टी केन्द्रको निर्देशन र अन्य दलहरूसँगको परामर्शपछि मात्र आगामी कदम तय गरिने स्पष्ट पार्नुभयो।

बैठकमा सहभागी बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेलले पनि माथिल्लो तहबाट स्पष्ट निर्देशन नआएसम्म आफूहरू सरकारमै रहने जानकारी दिनुभयो। पछिल्ला दिनहरूमा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिन लागेको चर्चा चले पनि त्यसबारे पार्टीबाट कुनै आधिकारिक निर्णय नभएको उहाँको भनाइ छ। हालका लागि नेपाली कांग्रेससँगको सत्ता सहकार्य यथावत् रहेको र पार्टीको निर्देशन प्राप्त नभएसम्म मन्त्रालयका नियमित कामकारबाहीलाई नै निरन्तरता दिइने मन्त्री पौडेलले बताउनुभयो।

केन्द्रमा विकसित राजनीतिक घटनाक्रमका बिच बागमती प्रदेशमा पनि सत्ता समीकरणलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्। यद्यपि, एमालेले भने पार्टीको औपचारिक निर्णय नआएसम्म सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने जस्ता कदम नचाल्ने स्पष्ट संकेत दिएको छ।

छुटाउनुभयो कि ?