हेटौँडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का छ जना मन्त्रीहरूले सोमबार पदबाट सामूहिक राजीनामा दिने भएका छन्। नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिँदै उनीहरूले मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाउन लागेका हुन्।
सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरूको सामूहिक राजीनामाबारे औपचारिक निर्णय गर्न एमाले बागमती प्रदेश संसदीय दलको बैठक सोमबार काठमाडौँमा बसिरहेको छ।
यसअघि गत शनिबार नै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सरकारबाट समर्थन फिर्ता लिने निर्णयबारे औपचारिक जानकारी गराइसकिएको थियो। सोही दिन मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइए पनि उनीहरूले सोमबार मात्रै औपचारिक रूपमा राजीनामा बुझाउन लागेका हुन्।
बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठका साथै मन्त्रीहरू जयराम थापा, भरतबहादुर केसी र किरण थापा सहभागी हुनुहुन्छ। एमालेले समर्थन फिर्ता लिँदै मन्त्रीहरू फिर्ता बोलाएसँगै बागमती प्रदेशको सत्ता समीकरणमा फेरबदल आउने निश्चित भएको छ।