काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टमा झन्डै २४ घण्टा लामो अर्थपूर्ण भेटवार्ता भएको छ।
शनिबार दिउँसो ३:२० बजे पत्नीसहित सभापति लामिछाने उक्त रिसोर्ट पुग्नुअघि नै अर्थमन्त्री वाग्ले त्यहाँ पुगिसकेका थिए। झन्डै २४ घण्टासम्म चलेको घनीभूत छलफल सकिएपछि सभापति लामिछाने आइतबार साँझ काठमाडौँ फर्किएका हुन्। पछिल्लो समय सरकार र सत्तासाझेदार पार्टीबीचको तालमेलमा समस्या देखिन थालेपछि रास्वपाका शीर्ष दुई नेताबीचको यो भेटलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
यो भेटघाटका पछाडि प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. वाग्लेबीच बढ्दै गएको तीव्र असमझदारी मुख्य कारण मानिएको छ। केही दिनअघि लामिछाने निवासमै पुगेर प्रधानमन्त्री बालेनले अर्थमन्त्री वाग्लेको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै उनलाई पदबाट हटाउने प्रस्ताव राखेका थिए।
प्रधानमन्त्रीले अर्थमन्त्रीको परम्परागत आर्थिक सुधारको खाका, सुस्त कार्यशैली र कडा ‘टेक्नोक्रेटिक’ अनुशासनका कारण राष्ट्रिय गौरवका आयोजना, आकस्मिक बजेट विनियोजन र तत्काल परिणाममुखी योजनाहरू रोेकिएको आरोप लगाएका छन्।
विशेष गरी पुँजी निर्माणभन्दा वैदेशिक ऋणलाई प्राथमिकता दिएको, सेयर बजारको समस्या सम्बोधन गर्न नसकेको र जनपक्षीय बजेट ल्याउन नसकेको भन्दै प्रधानमन्त्री सचिवालय वाग्लेसँग रुष्ट बनेको छ। यही खिचातानकै कारण प्रधानमन्त्रीले उद्योगी, व्यवसायी र राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँगका पछिल्ला छलफलहरूमा अर्थमन्त्रीलाई सहभागी नगराई एक्लै बैठकहरू गर्दै आएका छन्।
प्रधानमन्त्रीको उक्त प्रस्तावलाई सभापति लामिछानेले भने अस्वीकार गरिदिएका छन्। दुसित थानी रिसोर्टको भेटमा लामिछाने र वाग्लेबीच प्रधानमन्त्री शाहको कार्यशैली, सरकारको सय दिनको कार्यसम्पादन तथा सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयहरूमा गम्भीर समीक्षा भएको छ।
सरकारप्रति जनगुनासो बढ्दै गएको र रास्वपाकै सांसदहरूले समेत संसद् तथा सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गर्न थालेपछि दुवै नेता पार्टीको नीति र घोषणापत्र अनुसार सरकार नचले नेतृत्व नै परिवर्तन गर्ने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्रीको विकल्पमा कसलाई अघि सार्ने भन्ने विषयमा भने रास्वपाभित्र थप आन्तरिक छलफल गरेर मात्र निर्णय लिने समझदारी बनेको छ।