डिजिटल दुनियाँमा तीज गीतको दबदबा: नयाँ शैली र भ्युजको होड

डिजिटल दुनियाँमा तीज गीतको दबदबा: नयाँ शैली र भ्युजको होड

कास्की। तीज पर्व आउन अझै करिब दुई महिना बाँकी रहे पनि साउन सुरु भएसँगै युट्युबमा तीजका गीतहरूको रौनक छाउन थालेको छ।

गायक-गायिकाहरूले विभिन्न विषय, भाव र लयका तीज गीत सार्वजनिक गर्न थालेपछि पर्व नजिकिएको स्पष्ट छनक पाउन सकिन्छ। अहिले अन्य विधाका गीतहरूलाई थाँती राखेर कलाकारहरू तीज गीत उत्पादन र सार्वजनिक गर्नतर्फ केन्द्रित भएका छन्, जसले गर्दा सधैँ चलिरहने लोकदोहोरीसमेत केही ओझेलमा परेको छ।

हालै सार्वजनिक भएका धेरै गीतहरूलाई दर्शक तथा स्रोताले छोटो समयमै निकै रुचाएका छन्। एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बूको स्वर रहेको ‘नौरती फुली’ ले सार्वजनिक भएको दुई दिनमै झन्डै साढे चार लाख भ्युज पाइसकेको छ।

त्यस्तै देवी घर्तीमगर र सुनिता बुढामगरको ‘तीज आयो बरिलै’ तथा समीक्षा अधिकारी र प्रकाश पराजुलीको स्वरमा रहेको ‘लाहूरेनी’ जस्ता गीतहरूले पनि युट्युबमा राम्रो दर्शक बटुलिरहेका छन्। यी गीतहरूमा प्रेम, सौन्दर्य र श्रीमान्-श्रीमतीबीचको मीठो संवादलाई मुख्य विषय बनाइएको छ।

तथापि, तीज गीतको फेरिँदो शैलीलाई लिएर चिन्ता पनि व्यक्त हुन थालेको छ। विगतमा तीजका गीतहरू महिलाका वर्षभरिका दुःख, पीरवेदना, सामाजिक चेतना र महिला मुक्तिका आवाजमा केन्द्रित हुने गर्दथे।

तर, पछिल्लो समयका गीतहरूमा भने विपरीत लिङ्गीबीचको प्रेम, रोमान्स र संवेदनाका विषय बढी हाबी देखिन्छन्। कलाकारहरू भने समय, आधुनिक समाजको विकास र दर्शकको रुचिमा आएको परिवर्तन अनुसार प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्नु स्वाभाविक भएको तर्क गर्छन्।

छुटाउनुभयो कि ?