नेपाली कांग्रेस इतर समूहद्वारा पार्टी एकताका लागि अघि सारिएको ५ बुँदे प्रस्ताव सार्वजनिक

नेपाली कांग्रेस इतर समूहद्वारा पार्टी एकताका लागि अघि सारिएको ५ बुँदे प्रस्ताव सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको एकताका लागि संस्थापन पक्ष समक्ष राखेको पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको छ । संस्थापन पक्षबाट एकताका विषयमा भ्रमपूर्ण प्रचार भइरहेको आरोप लगाउँदै इतर समूहले आफ्ना प्रस्तावहरू सार्वजनिक गरेको हो ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, सदस्य, प्रदेश एवं जिल्ला सभापतिहरूको संयुक्त बैठकपछि उक्त प्रस्ताव बाहिर ल्याइएको हो । बैठकपछि नेता मीन विश्वकर्माद्वारा जारी प्रेस विज्ञप्तिमा संस्थापन पक्षले चलाएका हल्लाहरू निराधार रहेको दाबी गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, "नियमित महाधिवेशनका पक्षधरहरूले दिनानुदिन नयाँ र मान्नै नसकिने प्रस्ताव अघि सारेर एकता प्रक्रियालाई असहज बनाए भन्दै बजारमा चलाइएका हल्लाहरू निराधार, मिथ्या र भ्रामक छन् । पार्टी उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत निवर्तमान कार्यबाहक सभापतिलाई पठाएका प्रस्तावहरूमाथि नै हामीले २०८३ जेठ १८ गते औपचारिक छलफल गरी अधिकतम सहमति जुट्न सक्ने गरी जवाफ पठाएका थियौँ ।"

इतर समूहले सार्वजनिक गरेका ५ बुँदे प्रस्तावहरू यस प्रकार छन्:

  • कार्यसमितिलाई पूर्णता: १४औँ महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँग समायोजन गरी गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।

  • कार्यसम्पादन समिति गठन: सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति निर्माण गर्ने ।

  • महाधिवेशनको कार्यतालिका: पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाटै १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने ।

  • समितिहरूमा संस्थापनको बहुमत: महाधिवेशनसँग सम्बन्धित विभिन्न उपसमितिहरूमा वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी गठन गर्ने ।

  • क्रियाशील सदस्यता विवाद समाधान: १५औँ महाधिवेशनका लागि तत्कालीन महामन्त्री एवं वर्तमान सभापति गगनकुमार थापा संयोजक रहेको समितिले टुङ्ग्याएका सबै क्रियाशील सदस्यहरूलाई स्वतः सहभागी हुन दिने । ती सदस्यहरूको विवरण डिजिटल इन्ट्री गर्दै जाने र डिजिटल इन्ट्रीलाई पुनः नवीकरणको नाम दिएर महाधिवेशनमा भाग लिन पाउने वा नपाउने विषयसँग नजोड्ने ।

छुटाउनुभयो कि ?