ललितपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशहरूमा तीन वटै प्रमुख दल मिलेर सरकार बनाउन आएको प्रस्तावलाई अस्वीकार गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर प्रदेश सरकार गठन गर्ने प्रस्ताव आएकोतर्फ संकेत गर्दै उनले यस्तो कदम चाल्न नहुने स्पष्ट पारेका हुन्।
ललितपुरमा आज आयोजित नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति साक्षात्कार तथा कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले तीनवटै पार्टी मिलेर सरकार बनाउनु नागरिकले दिएको म्यान्डेट (जनादेश) विपरीत हुने बताए।
बागमती प्रदेश सरकारको भविष्यबारे नेता-कार्यकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै उनले कांग्रेसले आफ्नो सिद्धान्तमा कुनै सम्झौता नगर्ने दृढता व्यक्त गरे।
सभापति थापाले प्रदेशमा तीन प्रमुख दल मिलेर सरकार बनाउनु भनेको प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउनु रहेको जिकिर गरे। उनले सत्ता नै सबैकुरा हो भन्ने सोचले कांग्रेसलाई सन् २०१५ (वि.सं. २०७२) देखि गलत बाटोमा पुर्याएको टिप्पणी गर्दै एउटासँग मिलेर चुनाव लड्ने र अर्कोसँग मिलेर सत्तामा जाने प्रवृत्तिले को सत्तापक्ष र को प्रतिपक्ष भन्ने नै छुट्टिन छाडेको बताए।
यही सत्ताकेन्द्रित राजनीतिका कारण सरकारहरू निरन्तर बन्ने र भत्कने श्रृंखला चलिरहेको भन्दै उनले अबको कांग्रेसले आफ्नो सोच र प्राथमिकता बदल्न खोजेको दाबी गरे।
पछिल्लो समय कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गरिसकेको छ। नेकपा एमालेसँग विगतमा गरिएको राजनीतिक समझदारीलाई अब निरन्तरता नदिने पक्षमा कांग्रेस नेताहरू उभिएका कारण अहिले विभिन्न प्रदेश सरकारहरूमा नेतृत्व परिवर्तनको तीव्र चर्चा भइरहेको छ।