काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमा आफूलाई कुनै शंका नरहेको बताएका छन्।
शुक्रबार रौतहटमा पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको अन्तरक्रियाका क्रममा सभापति लामिछानेले सरकारले गर्ने निर्णयहरूमा कहिलेकाहीँ व्यावहारिक कठिनाइ आउन सक्ने भए पनि नियत सफा भए जुनसुकै निर्णय सच्याउन सकिने बताए।
उनले भने, ‘सरकारको निर्णयमा समस्या आयो भने करेक्सन (सुधार) गर्न सकिन्छ। तर, नियत नै खराब भयो भने करेक्सन गर्न गाह्रो हुन्छ। कतिपय अवस्थामा किसानको पक्षमा गरिएको निर्णय पनि व्यवहारमा कार्यान्वयन हुँदा उल्टो परिणाम आउन सक्छ, यस्ता विषयहरूलाई समयमै सच्याउनुपर्छ।’
सरकारले गर्ने निर्णयहरूले जनता वा किसानलाई हानि पुर्याएको खण्डमा सरकारले तत्काल सुधार गर्नुपर्नेमा उनले जोड दिए। साथै, लामिछानेले आफ्नो पार्टी गलत बाटोमा अघि बढेको खण्डमा खबरदारी गर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन्।