काठमाडौं। नेपाली चलचित्र 'मास्टर्नी'को गीतलाई लिएर नेपाल शिक्षक महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त गीतले महिला शिक्षक र समग्र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको ठहर गरेको छ।
भर्खरै सार्वजनिक भएको उक्त गीतमा महिला शिक्षकप्रति लक्षित गरी अमर्यादित शब्द र भाव संयोजन गरिएको महासंघको दाबी छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुला बहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ। त्यसैले उक्त गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ।'
महासंघले उक्त विवादित गीतको प्रसारण र प्रयोगलाई निरन्तरता दिएमा त्यसबाट उत्पन्न हुन सक्ने असहज परिणामप्रति चलचित्र निर्माता र सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुनुपर्ने चेतावनी समेत दिएको छ।
शिक्षकहरूको हकहितका लागि क्रियाशील यो संस्थाले चलचित्र निर्माण गर्दा कुनै पनि पेसा वा वर्गको मर्यादामा आँच आउन नहुने तर्फ सचेत गराएको छ।