मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच आजै लिखित सम्झौताको तयारी

मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच आजै  लिखित सम्झौताको तयारी

काठमाडौं। आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ।

यसअघि सिमरामा सरकारी टोली र पीडितका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित रूप दिँदै औपचारिकता प्रदान गर्न लागिएको हो।

सम्झौतालाई अन्तिम रूप दिनका लागि अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सरकारी वार्ता टोली र मिटरब्याजी पीडित पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक वार्ता चलिरहेको छ।

यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै पक्षबीच सघन छलफल भएको थियो। हिजोकै सकारात्मक छलफल र सहमतिलाई जग मानेर आज अन्तिम सम्झौताको वातावरण बनेको हो।

यस महत्त्वपूर्ण वार्ताका लागि गठित सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन् भने टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्यका रूपमा सहभागी छन्।

अर्कोतर्फ, पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरेका छन्। उनको टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी सदस्यका रूपमा रहेर वार्तामा भाग लिइरहेका छन्।

छुटाउनुभयो कि ?