बर्नह्याम बेलायतको प्रधानमन्त्री बन्दै

बर्नह्याम  बेलायतको प्रधानमन्त्री बन्दै

लन्डन। बेलायतको सत्तारूढ लेबर पार्टीले एक विशेष सम्मेलनमार्फत आफ्ना अनुभवी राजनीतिज्ञ एन्डी बर्नह्यामलाई पार्टीको नयाँ नेता र देशको आगामी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा घोषणा गर्दैछ।

संसद्मा लेबर पार्टीको स्पष्ट बहुमत रहेका कारण उनले आउँदो सोमबार १० डाउनिङ स्ट्रिटमा किर स्टारमरको स्थान लिँदै प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन्। सांसदका रूपमा नौ वर्षपछि पुनरागमन गरेको छोटो अवधिमै बर्नह्याम देशको सर्वोच्च कार्यकारी पदमा पुग्न सफल भएका हुन्।

५६ वर्षीय बर्नह्याम पछिल्लो एक दशकमा बेलायतको सातौँ प्रधानमन्त्री बन्नेछन्। आफ्नै दलका सांसदहरूको दबाबका कारण स्टारमरले राजीनामा दिएपछि बर्नह्यामका लागि सत्ताको यो बाटो खुलेको हो।

ग्रेटर म्यानचेस्टरको मेयरका रूपमा लगातार तीन कार्यकाल नेतृत्व सम्हालेर ‘उत्तरका राजा’ उपनाम पाएका बर्नह्याम यसपटक निर्विरोध रूपमा लेबर पार्टीको नेता चयन भएका हुन्।

यसअघि सन् २०१० र २०१५ का चुनावमा पराजय बेहोरेका उनी तेस्रो प्रयासमा मात्रै पार्टीको शीर्ष नेतृत्वमा पुग्न सफल भएका हुन्। सन् २००१ देखि २०१७ सम्म सांसद र मन्त्री रहेका बर्नह्यामको जनमुखी कार्यशैली, सामाजिक सञ्जालमा बलियो उपस्थिति र सर्वसाधारणसँगको प्रत्यक्ष संवाद गर्ने खुबीका कारण उनी बेलायती जनतामाझ निकै लोकप्रिय मानिन्छन्।

लेबर पार्टीका सांसदहरूले बर्नह्यामले जर्जर सार्वजनिक सेवामा सुधार ल्याउने, सुस्त अर्थतन्त्रलाई गति दिने र स्टारमरभन्दा प्रभावकारी रूपमा संवाद गर्न सक्ने अपेक्षा राखेका छन्। उनी आफैंले पनि देशलाई आशा र आत्मविश्वासको नयाँ बाटोमा हिँडाउने संकल्प व्यक्त गरेका छन्।

पार्टीभित्र सन् २०२९ को आमनिर्वाचनअघि तीव्र गतिमा फैलिरहेको आप्रवासनविरोधी रिफर्म युके पार्टीको प्रभावलाई रोक्न बर्नह्याम नै सबैभन्दा उपयुक्त र बलियो विकल्प भएको विश्वास गरिएको छ।

यसअघि सन् २०२४ मा लेबरलाई सत्तामा फर्काए पनि निवर्तमान प्रधानमन्त्री स्टारमर विभिन्न नीतिगत विवाद, कमजोर स्थानीय चुनाव परिणाम र विवादित राजदूत नियुक्तिका कारण निरन्तर दबाबमा थिए।

जुन महिनामा बर्नह्यामले उपनिर्वाचन जितेर संसद्मा फर्किएपछि स्टारमरमाथि राजीनामा दिन चौतर्फी दबाब बढेको थियो, जसका कारण उहाँले जुन २२ मा राजीनामा दिए। संसद्मा बर्नह्यामलाई लेबरका ४०३ मध्ये ३७९ सांसदको भारी समर्थन प्राप्त भएको छ।

पार्टीको नरम वामपन्थी धारको प्रतिनिधित्व गर्ने बर्नह्यामले अब बेलायतको शक्ति र स्रोतलाई राजधानी वेस्टमिन्स्टर बाहिरका अन्य सहरहरूमा पनि विस्तार गर्ने प्रतिबद्धता जनाएाक छन्।

यद्यपि, नयाँ प्रधानमन्त्रीका रूपमा उनका अगाडि घरेलु र अन्तर्राष्ट्रिय स्तरका अनेकौं चुनौतीहरू छन्। सुस्त अर्थतन्त्र सुधार गर्ने, सार्वजनिक सेवा चुस्त बनाउने र अनियमित आप्रवासन नियन्त्रण गर्ने आन्तरिक चुनौतीका साथै अमेरिका–इरान तनावका कारण सिर्जित ऊर्जा संकट र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिगत उतारचढावलाई झेल्नुपर्ने दबाब उनीमाथि रहनेछ।

राजा चार्ल्स तृतीयसँग भेट गरी औपचारिक रूपमा पदभार ग्रहण गर्ने तयारीमा रहेका बर्नह्यामले मुख्य करहरू नबढाई रक्षा क्षेत्रमा थप लगानी जुटाउने र कल्याणकारी सुधारका कामहरूलाई अगाडि बढाउने चुनौतीपूर्ण यात्रा तय गर्नुपर्नेछ।

छुटाउनुभयो कि ?