काठमाडौं— सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलसहित १६ प्रतिवादीविरुद्ध विशेष अदालतमा पूरक आरोपपत्र दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थप अनुसन्धानपछि बिहीबार दर्ता गरिएको यस पूरक अभियोगपत्रमा ६ जना व्यक्ति र १० वटा कम्पनीलाई विपक्षी बनाइएको छ। यसअघि व्यवसायी दीपक भट्टसहितका प्रतिवादीहरूविरुद्ध दायर भई विचाराधीन रहेको मूल मुद्दामै जोडिने गरी यो पूरक आरोपपत्र अदालतमा पेश गरिएको हो।
विशेष अदालतका अनुसार आरोपीहरूले गैरकानुनी रूपमा आर्जित सम्पत्तिको वास्तविक स्रोत छल्ने, लुकाउने तथा अवैध धनलाई वैधता दिने वातावरण सिर्जना गरी सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ विपरीत कसुर गरेको दाबी गरिएको छ।
विभागले एमाले उपाध्यक्ष पौडेललाई यस वित्तीय अपराधमा मतियारको भूमिका खेलेको अभियोग लगाउँदै २० करोड ९० लाख रुपैयाँ बिगो कायम गरेको छ। यसका साथै पौडेलको नाममा एभरेष्ट बैंक लिमिटेडमा रहेको खाताको ६ लाख ३४ हजार ५४५ रुपैयाँ ८४ पैसा मौज्दात रकम समेत जफत गर्न अदालतसमक्ष मागदाबी गरिएको छ।
ललिता निवास जग्गा प्रकरण लगायतका विगतका विवादहरूमा नाम जोडिए पनि कानुनी कारबाहीबाट जोगिँदै आएका नेता पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणकै कसुरमा यति ठूलो बिगो दाबीसहित मुद्दा दायर हुनुलाई राजनीतिक र कानुनी वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। विशेष अदालतमा पूरक आरोपपत्र दर्ता भएसँगै अब प्रतिवादीहरूलाई म्याद तामेल गर्ने, बयान लिने र थुनछेक बहस अघि बढाउने गरी कानुनी प्रक्रिया प्रारम्भ हुने अदालत प्रशासनले जनाएको छ।