‘लुरे बुढा, भुँडे बुढी’ मा इकु र स्नेहाको ठटेउली, साउन ४ गतेदेखि प्रसारण हुने

‘लुरे बुढा, भुँडे बुढी’ मा इकु र स्नेहाको ठटेउली, साउन ४ गतेदेखि प्रसारण हुने

काठमाडाैं। कलाकार सुलेमान शंकर ‘इकु’ र अभिनेत्री स्नेहा कटवालको मुख्य अभिनय रहेको नयाँ पारिवारिक हाँस्य टेलिश्रृंखला ‘लुरे बुढा, भुँडे बुढी’ को प्रोमो सार्वजनिक भएको छ। नेपाली समाजको मौलिक परिवेश र पारिवारिक ठट्टालाई समेटेर तयार पारिएको यो कार्यक्रम यही साउन ४ गतेदेखि हरेक सोमबार बेलुका ५ बजे साप्ताहिक रूपमा प्रसारण हुने भएको छ।

डिजिटल मिडिया र नेपाली मनोरञ्जन क्षेत्रमा विल्कुलै नयाँ र मौलिक स्वाद पस्कने उद्देश्यका साथ यो शो निर्माण गरिएको यसका परिकल्पनाकार सुलेमान शंकर 'इकु'ले जानकारी दिएका छन्।

यस कार्यक्रममा नेपालका स्थापित सेलिब्रेटी, राजनीतिक तथा सामाजिक क्षेत्रका चर्चित व्यक्तित्वहरूलाई अतिथिको रूपमा आमन्त्रण गरिनेछ। अतिथिहरूको बाल्यकाल, जीवनका संघर्ष र उतारचढावका रोचक कथाहरूलाई विशुद्ध हाँस्य विधा र गाउँले टिपिकल शैलीमा प्रस्तुत गरिने इकुले बताए। शोको मुख्य आकर्षण नै टिपिकल नेपाली गाउँघरको शैली र ठट्टा पारा रहनेछ, जसले दर्शकलाई आफ्नोपनको आभास गराउने विश्वास निर्माण पक्षको छ।

सार्वजनिक प्रोमोमा सुलेमान शंकर 'लुरे बुढा' र स्नेहा कटवाल 'भुँडे बुढी' को रमाइलो नोकझोक प्रस्तुत गरिएको छ। प्रोमोमा लुरे बुढाले आफ्नो कहानी सुनाउन आउँदैछु भनिरहँदा भुँडे बुढीले पनि आफ्नो कहानी उत्तिकै महत्वपूर्ण रहेको भन्दै ठटेउली शैलीमा प्रतिवाद गरेकी छिन्। कसको कहानी पहिला सुनाउने भन्ने विषयमा बुढाबुढीबीच परेको तछाडमछाडलाई निकै रोचक ढंगले देखाइएको यो प्रोमो नागरिक प्रेसको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

छुटाउनुभयो कि ?