विराटनगर। नेपाली कांग्रेसले देशका सातै प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँगको सत्ता साझेदारीबाट पछि हट्ने आन्तरिक तयारी तीव्र पारेको छ।
केन्द्रको रणनीति अनुरूप विभिन्न प्रदेशमा कांग्रेसबाट मन्त्री बनेका नेताहरूले धमाधम राजीनामा दिइरहेका बेला कोशी प्रदेश सरकारको भविष्यबारे अन्तिम निर्णय लिन कांग्रेस कोशी प्रदेशस्तरीय संयन्त्रको महत्त्वपूर्ण बैठक विराटनगरमा सुरु भएको छ।
कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको यस बैठकमा उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, नेता तथा सांसदहरू अमृत अर्याल, गयानन्द मण्डल र मैयाँ श्रेष्ठलगायतको उपस्थिति रहेको छ।
तर, कोशी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट नेतृत्व गरिरहेका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार भने यस निर्णायक बैठकमा अनुपस्थित रहेका छन्। सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरू पार्टी सभापति गगन थापा नेतृत्वको केन्द्रीय समितिले दिएको मन्त्री पदबाट राजीनामा दिने निर्देशन मान्ने पक्षमा नरहेको र आफ्नै अडानमा अडिग रहेको स्रोतले दाबी गरेको छ।
हाल कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री सुनुवारसहित स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन्।
पार्टीभित्र मन्त्रीहरूको असन्तुष्टि र अडानका बीच जारी यस प्रादेशिक बैठकले वर्तमान एमाले नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने र समर्थन फिर्ता लिने औपचारिक निर्णय गर्ने बुझिएको छ।